जीतपुरसिमरा १७ घर भएका डिएसपी पञ्चलाल गोले पुरस्कृत

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) पञ्चलाल गोले पुरस्कृत भएका छन् ।
मंसिर अन्तिम साता ललितपुर र भक्तपुरमा भएको दुई हत्याकाण्डको सफल अनुसन्धान गरी अभियुक्तलाई पक्राउ गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डिएसपी गोलेसहित सात प्रहरीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा दुई डिएसपी, एक प्रहरी निरीक्षक, दुई प्रहरी नायब निरीक्षक, एक प्रहरी सहायक निरीक्षक र एक हवल्दार रहेका छन् ।
पुरस्कृत हुने डिएसपीमा गोले र वेद पौडेल रहेका छन् । पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरमा कार्यरत छन् । यसैगरी प्रहरी निरीक्षक शिव थापा पनि पुरस्कृत भएका छन् ।
मंसिर २४ गते ललितपुरको महालक्ष्मी नगरपालिका ८ शेरेफाँटमा फार्महाउस संचालन गर्दै आएका सिन्धुलीका केशवराज हायु र मंसिर २५ गते भक्तपुरको सूर्यविनायक नगरपालिका ७ देउरालीमा पारुहाङ राईको हत्या भएको थियो । उनिहरुको हत्या दुई जनाले गरेका थिए ।
प्रहरीले हत्या अभियोगमा सिन्धुलीका सुनकोशी गाउँपालिका ४ का देवराज ढुंगेल र जयराम अधिकारीलाई पक्राउ गरेको थियो । देवराजले केशवराजसंग १२ लाख र पारुहाङसंग पाँच लाख सापटी लिएको र सो रकम फिर्ता नगर्नका लागि हत्या योजना बनाएका थिए । ढुंगेको योजनामा जयरामले साथ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।





