निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

सिमराः निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगको अभ्यासअनुसार मतदान हुनुभन्दा करिब ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गरिँदै आएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा विगतका निर्वाचनमा अपनाइएको अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा मिति निर्धारण गरेर आचारसंहिता लागू गरिने जानकारी दिएका छन्। उनका अनुसार निर्वाचन आयोगले आचारसंहिता यसअघि नै पारित गरिसकेको छ।
प्रवक्ता भट्टराईका अनुसार राजनीतिक दल तथा सरोकारवाला पक्षहरूको सुझाव समेटेर आचारसंहिता तयार पारिएको हो। आचारसंहितामा सूचना प्रविधिको प्रयोगको नियमनसम्बन्धी व्यवस्था गरिएको छ भने ‘हरित निर्वाचन’ अवधारणाअन्तर्गत भर्चुअल प्रचारलाई प्रवर्द्धन गर्ने नीति समेत समावेश गरिएको छ।
त्यसैगरी निर्वाचन सामग्रीमा प्लास्टिकको प्रयोग नगर्ने नीति आयोगले लिएको छ । जसअनुसार राजनीतिक दलहरूले पनि सोही व्यवस्था पालना गर्नुपर्नेछ। आचारसंहितामा राजनीतिक दलहरूले मत माग्न जाँदा घोषणापत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ।
चुनावपछि घोषणापत्र कति कार्यान्वयन भयो वा भएन भन्ने विषयमा प्रतिवेदन तयार गरी सार्वजनिक गर्नुपर्ने प्रावधान पनि आचारसंहितामा समेटिएको छ। साथै उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण, निर्वाचन खर्च बैंकमार्फत मात्र गर्नुपर्ने लगायतका विषयहरू पनि आचारसंहितामा उल्लेख गरिएको आयोगले जनाएको छ।
निर्वाचनलाई पारदर्शी, मर्यादित र वातावरणमैत्री बनाउन आचारसंहिताले महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।





