लायन बारा तेक्वान्दो प्रतियोगितामा आयोजक प्रथम

सिमरा: बाराको डुमरवानामा आयोजित लायन बारा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा आयोजक लायन तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
डुमरवानास्थित प्रोग्रेस एकेडेमीमा भएको प्रतियोगितामा ९ स्वर्ण, सात रजत र ११ कास्यसहित आयोजक प्रथम भएको हो । प्रतियोगितामा चार स्वर्ण, एक रजत र एक कास्यसहित नेत्रोदय तेक्वान्दो डोजाङ निजगढ दोस्रो र एक स्वर्ण, तीन रजत र दुई कास्यसहित बागदेव तेक्वान्दो डोजाङ निजगढ तेस्रो भएको छ ।
प्रतियोगिताको उत्कृष्ट फाइटर पुरुषतर्फ नेत्रोदयका समीर नेपाल र महिलातर्फ आयोजककी निलिमा गुरुङ घोषित भएका छन् । प्रतियोगितामा २६ महिलासहित ८७ खेलाडी सहभागी थिए ।
विजेता तथा उपविजेता खेलाडीलाई मधेश प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, तेक्वान्दो प्रशिक्षक बिजय शाह ठकुरी, लायन तेक्वान्दो डोजाङका प्रमुख सन्तोष गिरीले पुरस्कार वितरण गरेका थिए । यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए ।





