बारा ४ः लोकतान्त्रिक आदिवासी जनजाति महासंघको क्षेत्रीय भेला सम्पन्न


eShilalekh

१९ माघ २०८२, सोमबार १९:१७

सिमराः नेकपा एमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्र नं. ४ को क्षेत्रीय भेला सोमबार अमलेखगञ्जमा सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै बारा क्षेत्र नं. ४ का एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठले फाल्गुन २१ गतेको निर्वाचनको नतिजा एमालेको पक्षमा आउने निश्चित भएको बताए । बारा ४ को विकासमा एमाले र आफू सांसद हुँदा गरेको कामलाई जनताले मुल्यांकन गर्ने नेता श्रेष्ठको भनाई थियो ।

अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका सांसद श्रेष्ठले आफू तनहुँबाट बसाइँ सरेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ औराहमा आएको र यसै क्षेत्रको समेत मतदाता भईसकेको बताए । उनले आफूलाई तनहुँ फर्काईदिने भन्दै रास्वपाका उम्मेदवार रहबर अंसारीले दिएको अभिव्यक्तिप्रति आक्रोश पोखे ।

चुनावी सभामा बोल्ने क्रममा रास्वपा उम्मेदवार अंसारीले किसान श्रेष्ठलाई तनहुँ फर्काउने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै नेता श्रेष्ठले ‘मलाई तनहुँ होईन्, तपाईंलाई रिक्सा चढाएर जनताले वीरगन्ज पठाउनेछन् ।’

अन्सारी पर्सा क्षेत्र नं. १ का बासिन्दा हुन् । उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नं. १(१) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा माओवादी केन्द्र परित्याग गरेर उनी माघ ६ गतेको मनोनयन अघि मात्रै रास्वपा प्रवेश गरेका थिए ।

एमाले नेता श्रेष्ठले आफूले कुनै उम्मेदवारको आलोचना नगरी आफ्नो योजना लिएर मतदातामाझ पुगिरहेका बेला अनावश्यक टिप्पणी नगर्न सुझाव दिए । उनले जनताको मन जितेर देखाउन आग्रह गरे ।

भेलामा एमाले पूर्व केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेश सदस्य देवनारायण चौधरी, अमृतलाल श्रेष्ठ, गिता घलेलगायतले मन्तव्य राखेका थिए । महासंघकी जिल्ला इन्चार्ज सिता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नगर अध्यक्ष सुवास श्रेष्ठले गरेका थिए । भेलामा जयकिशोर चौधरीले स्वागत मन्तव्य राखेका थिए भने वडाध्यक्ष धनबहादुर श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एमाले पूर्वकेन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभा सदस्य मञ्जु थापामगर, एमाले नेता दिनेश्वर ठाकुर, एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहलगायत एमाले र महासंघको विभिन्न तहका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो । भेलाले जिल्ला इन्चार्ज गुरुङको नेतृत्वमा एक सय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्