बलियो जनमत बटुल्दै कांग्रेस उम्मेदवार गुप्ता


eShilalekh

१५ फाल्गुन २०८२, शुक्रबार २०:३०

सिमराः बारा क्षेत्र नं. ४ मा यतिबेला चुनावी सरगर्मी चुलिएको छ । यही सरगर्मीकाबीच नेपाली कांग्रेसका युवा उम्मेदवार श्यामबाबु गुप्ताले चुनावी शैलीलाई आक्रामक बनाउँदै लगेका छन् ।

मनोनयनपछि सुरुवाती चरणमा सुस्त देखिएपनि गुप्ताले अहिले चुनावी अभियानलाई आक्रामक र प्रभावकारी बनाएका छन् । जसका कारण अन्य उम्मेदवारलाई चुनौती थपिएको छ ।

गुप्ता विकासको नारा बोकेर बिहानको घामसँगै घरदैलोमा निस्किन्छन् र राति अबेरसम्म मतदाता भेटघाटमा व्यस्त रहन्छन्। घरघर पुग्ने र मतदातासंग भेटेका गुप्ताले बलियो जनमत बटुलिरहेका छन् । जसले गर्दा कांग्रेस कार्यकर्तामा उत्साह समेत बढेको छ ।

कांग्रेसका लागि यो क्षेत्र विगतमा सहज थिएन। २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार लालबाबु सिंह भुइहार तेस्रो स्थानमा सीमित भए। २०७९ सालमा पाँच दलीय गठबन्धनका कारण कांग्रेसले आफ्नै उम्मेदवार उठाउन पाएन। त्यसबेला कांग्रेसले नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई समर्थन गरेको थियो। संयोगवश अहिले तिनै किसान नेकपा एमालेबाट उम्मेदवार बनेका छन् र कांग्रेस उनैविरुद्ध मैदानमा उत्रिएको छ।

यही पृष्ठभूमिमा गुप्ता नयाँ अनुहारका रूपमा अघि आएका छन्। उनी अहिलेसम्म चुनाव नलडेका युवा उम्मेदवार हुन् । जसले युवामाझ आकर्षण र सम्भावना बोकेको नेतृत्वको सन्देश दिइरहेका छन्। नेपाली कांग्रेसमा निरन्तर सक्रिय रहँदै आएका उनी नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरका संस्थापक सभापति हुन्।

२०७४ र २०७९ सालमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको आकांक्षी हुँदा पनि टिकट पाएनन्। तर टिकट नपाउँदा पनि उनले पार्टी नछोडी संगठनमै बसेर काम गरे। यही निष्ठा र निरन्तरताले अहिले उनलाई बलियो दाबेदार बनाएको समर्थकहरू बताउँछन्।

श्यामबाबु व्यवसायी विनोद गुप्ताका कान्छा छोरा हुन्। उनका बुवा विनोद कांग्रेसका पुराना नेता तथा उद्योगी, व्यवसायीहरूसंग निकट सम्बन्ध राख्ने प्रभावशाली व्यक्तित्व मानिन्छन्। चुनावी मैदानमा श्यामबाबुलाई जिताउन बुवा विनोद, जेठा दाजु पंकज गुप्ता, कांग्रेसका सम्पूर्ण नेताकार्यकर्ता कम्मर कसेर लागेका छन्। परिवार र नेताकार्यकर्ताको साथले उनको अभियान थप सशक्त बनेको छ।

युवा ऊर्जा, संगठनात्मक अनुभव र पारिवारिक राजनीतिक पृष्ठभूमिको समिश्रण बोकेर गुप्ता अहिले बारा ४ मा नयाँ सम्भावनाको प्रतीक बनेका छन्। मतदाताको मन जित्न उनी घरदैलोमा निरन्तर सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्