प्रतिनिधिसभा निर्वाचन: बारामा कति कर्मचारी परिचालन हुँदैछन्?


eShilalekh

१९ फाल्गुन २०८२, मंगलवार १६:५७

सिमराः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लामा ठूलो संख्यामा कर्मचारी परिचालन गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका पाँच सय ८७ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन तीन हजार पाँच सय ५० भन्दा बढी कर्मचारी खटाइएको छ।

५८७ मतदान अधिकृत खटाइए

जिल्लाका तीन सय पाँच मतदानस्थल अन्तर्गत पाँच सय ८७ मतदान केन्द्रमा प्रत्येक केन्द्रका लागि एक–एक जना मतदान अधिकृत तोकिएको छ। यसअनुसार पाँच सय ८७ जना मतदान अधिकृत प्रत्यक्ष रूपमा मतदान प्रक्रिया सञ्चालनमा रहनेछन्। यसैगरी सोही संख्यामा सहायक मतदान अधिकृत खटाइएको छ ।

प्रत्येक केन्द्रमा ६ जनाका दरले कर्मचारी

निर्वाचन अधिकृतका अनुसार प्रत्येक मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी परिचालन गरिएको छ। यसअनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहयोगी कर्मचारी गरी करिब तीन हजार पाँच सयभन्दा बढी जनशक्ति मतदान केन्द्रमा खटिएको छ।

सुरक्षाकर्मी साढे ६ हजारभन्दा बढी

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कर्मचारीसँगै सुरक्षातर्फ पनि व्यापक तयारी गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निर्वाचन प्रहरी गरी साढे ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।

मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सोमबारदेखि नै निर्वाचन सामग्रीसहित पुगिसकेका छन्। मतदान केन्द्रलाई प्रहरीले सुरक्षा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्