वीरगन्जस्थित नारायणी रंगशालाको पुनर्निर्माण कार्य सुरु


eShilalekh

२९ फाल्गुन २०८२, शुक्रबार १४:५०

वीरगन्जः देशकै दोस्रो ठूलो खेलकुद संरचनाको रूपमा रहेको वीरगन्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ ।

वर्षौंदेखि मर्मतसम्भारको अभावमा जीर्ण बनेको यस रंगशालालाई नयाँ जीवन दिन चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट विनियोजित रकम परिचालन गर्दै बिहीबारदेखि भौतिक काम अगाडि बढाइएको हो ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुका अनुसार पहिलो चरणमा रंगशालाका अत्यन्तै जोखिमपूर्ण र जीर्ण अवस्थामा रहेका प्यारापिटहरू डोजर लगाएर भत्काउन थालिएको छ ।

यो पुनर्निर्माण प्रक्रियाका लागि अघिल्लो सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तत्कालीन कानुनमन्त्री अजय चौरसिया र खेलकुदमन्त्री तेजुलाल चौधरीको विशेष पहलमा उक्त रकम विनियोजन भएको र हाल सोही बजेट निकासा भएपछि कामले गति लिएको हो ।

३५ हजार दर्शक क्षमता भएको यो ऐतिहासिक मैदान पुनर्निर्माण हुनु यहाँका खेलाडी र खेलप्रेमीहरूका लागि ठूलो उपलब्धि मानिएको छ । जसले विगत एक दशकदेखि रंगशालाको जीर्ण अवस्था सुधार्न विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएका छन् ।

यद्यपि रंगशालाको समग्र स्तरोन्नतिका लागि अहिले प्राप्त भएको चार करोड रुपैयाँ पर्याप्त नहुने समितिले जनाएको छ । अध्यक्ष कानुका अनुसार तत्काल प्राप्त रकमबाट नयाँ प्यारापिट निर्माणको काम थालिनेछ भने बाँकी संरचनाको सुधारका लागि संघीय सरकार र युवा तथा खेलकुद मन्त्रालयसँग थप बजेटको माग गरिनेछ ।

साथै मधेस प्रदेश सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा यस रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखेकाले प्रदेश सरकारसँग समेत आवश्यक समन्वय र बजेटका लागि पहल गरिने अध्यक्ष कानुको भनाइ छ ।

वि.सं. २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा अधिग्रहण गरी निर्माण थालिएको यस रंगशालाको उद्घाटन २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए ।

झन्डै डेढ दशक अघिसम्म राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताको केन्द्र बनेको यो मैदान संरक्षणको अभावमा भग्नावशेष जस्तै बनेपछि यहाँ खेल गतिविधिहरू ठप्प थियो ।

यस पुनर्निर्माण अभियानले वीरगन्जको खेलकुदलाई पुनः पुरानै लयमा फर्काउने र खेलाडीहरूका लागि स्तरीय अभ्यास स्थल उपलब्ध हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्