प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीको सानदार जित, कोशी १४८ रनले पराजित

सिमरा: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि १४८ रनको फराकिलो जित दर्ता गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा भएको प्रतिस्पर्धामा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै कोशीलाई सहजै पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २४९ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । लुम्बिनीका कप्तान देव खनालले शानदार ९२ रन बनाउँदै टोलीको इनिङ सम्हाले । उनले एक सय बलमा आठ चौका र एक छक्का प्रहार गरे पनि शतक बनाउन भने आठ रनले चुके ।
यसैगरी सन्तोष यादवले ४८ रन तथा रञ्जित खड्काले ३५ रनको योगदान दिए । कोशीका बलरमध्ये सुजन थपलियाले चार विकेट लिए भने दीपेश कंडेलले दुई तथा प्रेम कामत र विपिन महताले समान एक–एक विकेट हात पारे ।
२५० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कोशीको ब्याटिङ क्रम लुम्बिनीका बलर सामु टिक्न सकेन । कोशी एक सय एक रनमै समेटिँदा अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए ।
लुम्बिनीको जितमा सन्तोष यादवले चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । राजेन्द्र बमले तीन, निर्मल गुरुङले दुई तथा सन्देश थापाले एक विकेट लिए । सर्वाधिक योगदानका लागि सन्तोष यादव ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजी गुप्ताले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार तल्लो मुलपानी मैदानमा गण्डकी प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ भने माथिल्लो मुलपानीमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् ।






