प्रधानमन्त्री कप क्रिकेटः गण्डकीविरुद्ध आर्मी सात विकेटले बिजयी


eShilalekh

१२ चैत्र २०८२, बिहीबार १७:४५

सिमराः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तल्लो मुलपानी मैदानमा बिहीबार सम्पन्न खेलमा त्रिभूवन आर्मी क्लब बिजयी भएको छ । विभागिय टिम त्रिभूवन आर्मी क्लबले गण्डकीलाई सात विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको २१० रनको लक्ष्य तीन विकेटको क्षतिमा ३४ ओभरमा पूरा गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो । यसअघि प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा आर्मीले आइतबार नेपाल पुलिस क्लबमाथि २२ रनको जित हात पारेको थियो ।

आर्मीको दोस्रो जितमा तीन ब्याटरले अर्धशतक पूरा गरे । गण्डकीले दिएको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आर्मीका ओपनर कप्तान बिनोद भण्डारीले ५८ र तृतराज दासले ५१ रन बनाए । यसैगरी भीम सार्कीले अविजित ५४ रन जोड्दा कुशल मल्लले ४३ रन जोडेका थिए । गण्डकीका सुवास भण्डारीले दुई र विपिन खत्रीले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २०९ रन जोडेको थियो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले ६७ बनाएर भने विकेटकिपर ब्याटर दीपक डुम्रेले ५१ रन जोडे । गण्डकीका अन्य ब्याटरले सम्झनलायक प्रर्दशन गरेनन् ।

गण्डकीलाई मध्यम स्कोरमा रोक्ने क्रममा आर्मीका साहब आलम र आकाश चन्दले ३–३ विकेट लिए भने कुशल मल्लले दुई विकेट हात पारे । मल्ल प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्