प्रधानमन्त्री कपमा मधेसको अपराजित यात्रा कायमै, लुम्बिनी २५ रनले पराजित


eShilalekh

१३ चैत्र २०८२, शुक्रबार १६:२१

सिमरा: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले आफ्नो अपराजित यात्रा कायम राख्दै लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गरेको छ।

जनकपुरस्थित रामजानकी रंगशालामा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो। मधेसका लागि मयन यादवले ३१ रनको योगदान दिए भने आदिल आलमले २३ र पवन सर्राफले १९ रन जोडे। कप्तान अनिल साह भने केवल एक रनमै आउट भए।

सुरुवातमै १० रनको अवस्थामा कप्तान गुमाएपछि मधेसको ब्याटिङ केही दबाबमा देखिएको थियो। अन्तिम चरणमा पनि मधेसले १२४ रनको अवस्थामा लगातार तीन विकेट गुमाएको थियो।

लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। सन्देश थापा र सन्तोष थापाले समान ३–३ विकेट लिए भने अजय चौहानले २ र निर्मल गुरुङले एक विकेट हात पारे।

१३९ रनको लक्ष्य पछ्याएको लुम्बिनीको ब्याटिङ भने पूर्ण रूपमा असफल रह्यो। २६ ओभरमै सबै विकेट गुमाउँदै लुम्बिनी ९९ रनमै सीमित भयो। सुमित श्रेष्ठले ३० रन बनाए भने सन्देश थापाले १६ र कप्तान देव खनालले १२ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् भने चार खेलाडी शून्यमै आउट भए।

मधेसका विशाल पटेलले घातक बलिङ गर्दै एक्लैले ५ विकेट लिए। उनले ९ ओभरमा २४ रन खर्चिएर ‘फाइफर’ पूरा गरे। उनले रञ्जित खड्का, आकाश त्रिपाठी, प्रज्वल थापा, ध्रुव सुनार र निर्मल गुरुङलाई आउट गरेका थिए।

यसैगरी प्रदीप पासवानले २ विकेट लिए भने रुपेश सिंह, आदिल आलम र आशिक बैठाले समान एक–एक विकेट लिए। प्लेयर अफ दि म्याच घोषित भएका विशाल पटेलको प्रदर्शनले मधेसलाई सहज जित दिलायो।

यस जितसँगै मधेस प्रदेश अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलबाट दुई जित र एक बराबरीसहित मधेसले ५ अंक बनाएको छ। वर्षाका कारण पहिलो खेलमा कोशी प्रदेशसँग अंक बाँडेको मधेसले दोस्रो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो।

यता प्रतियोगितामा पहिलो हार व्यहोरेको लुम्बिनी प्रदेश ३ अंकसहित तालिकाको पाँचौं स्थानमा झरेको छ। पहिलो खेल वर्षाका कारण रद्द भएपछि कर्णालीसंग अंक बाँडेको लुम्बिनीले दोस्रो खेलमा कोशीलाई फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्