प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको पहिलो जित, एपीएफ ४३ रनले पराजित

सिमराः प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई ४३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। गण्डकीले चार खेल खेल्दा पहिलो सफलता हात पारेको हो भने समान खेल खेलेको एपीएफको यो दोस्रो हार हो।
तल्लो मूलपानी मैदानमा वर्षाका कारण खेल २१ ओभरमा झारिएको थियो। टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
१५१ रनको लक्ष्य पछ्याएको एपीएफ १८.३ ओभरमा १०७ रनमै समेटिँदै हार बेहोर्न बाध्य भयो। एपीएफका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए। उनले २४ बल खेल्दै १ छक्का प्रहार गरेका थिए।
ओपनर लोकेश बम र आसिफ शेखले समान १४–१४ रन जोडे भने कप्तान रोहित पौडेल ३ रनमै क्याच आउट भए। कमलसिंह ऐरी १७ रनमा बोल्ड हुँदा अभिषेक गौतम १४ रनमा अविजित रहे।
गण्डकीका लागि बलिङतर्फ अपराजित पौडेल र सिविन श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए। सुवास भण्डारीले २ विकेट झार्दा कमल परियारले १ विकेट हात पारे।
यस जितसँगै गण्डकीले प्रतियोगितामा पुनरागमन संकेत गरेको छ भने एपीएफलाई आगामी खेलमा सुधार आवश्यक देखिएको छ।





