प्रधानमन्त्री कपमा आर्मीको दबदबा कायम, बागमती प्रदेश तीन विकेटले पराजित

सिमराः प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ। यस जितसंगै आर्मी चार खेलबाट तीन जित र एक खेलमा अंक बाँड्दै सात अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
माथिल्लो मूलपानी मैदानमा ओसका कारण खेल २८ ओभरमा झारिएको थियो। टस हारेर ब्याटिङ गरेको बागमतीले निर्धारित २८ ओभरमा सात विकेट गुमाउँदै २०८ रनको बलियो योगफल तयार पारेको थियो।
२०९ रनको लक्ष्य पछ्याएको आर्मीले २७.५ ओभरमा सात विकेट गुमाउँदै २१० रन बनाउँदै रोमाञ्चक जित निकालेको हो। अन्तिम ओभरमा १३ रन आवश्यक रहेको अवस्थामा आर्मीका लागि कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरे। अन्तिम दुई बलमा ५ रन आवश्यक हुँदा उनले पाँचौं बलमा रिजन ढकाललाई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।
आर्मीको जितमा कुशल मल्लले अविजित ९० रनको उत्कृष्ट पारी खेले। उनले ५८ बलमा ३ चौका र ८ छक्का प्रहार गरे। ओपनर तृतराज दासले ५४ रनको अर्धशतकीय योगदान दिए भने अर्जुन साउदले १४ र नरेन साउदले २६ रन जोडे। अन्य ब्याटर भने खासै चल्न सकेनन्। बागमतीका लागि इशान पाण्डे र विवेक मगरले समान २–२ विकेट लिए। रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले १–१ विकेट हात पारे।
यसअघि ब्याटिङ गरेको बागमतीका लागि ओपनर आशुतोष घिरौयाले सर्वाधिक ३८ रन बनाए। पवन थापाले ३५, विवेक मगरले ३० र प्रतिश जिसीले २८ रनको योगदान दिए। कप्तान सन्दीप लामिछाने ३० तथा सोनु देवकोटा २१ रनमा अविजित रहे।आर्मीका लागि नरेन साउदले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। साहब आलम, दुर्गेश गुप्ता र वसिर अहमदले समान १–१ विकेट लिए।
आर्मीले यसअघि नेपाल पुलिस क्लबलाई २२ रनले तथा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो भने एपीएफविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। यता बागमतीले ४ खेलमध्ये १ जित र २ हार भोगेको छ भने एक खेलमा नतिजा आउन बाँकी रहेको छ।
प्रतियोगिता अन्तर्गत सोमबार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुनेछ भने जनकपुरमा मधेस प्रदेश र कर्णाली भिड्नेछन् ।





