मधेसको अपराजित यात्रा कायमै, कर्णाली पाँच विकेटले पराजित

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले आफ्नो अपराजित यात्रा कायम राख्दै कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।
जनकपुरस्थित रामजानकी रंगशालामा भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य मधेसले २४.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै मधेसले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो।
चार खेलबाट सात अंक जोड्दै मधेस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल वर्षाका कारण अवरुद्ध हुँदा कोशीसँग अंक बाँडेको मधेसले त्यसपछि सुदूरपश्चिम र लुम्बिनीलाई पराजित गरेको थियो।
मधेसको जितमा ओपनर मयन यादव र निरज यादवले राम्रो सुरुवात दिलाए। निरजले ३८ रन बनाउँदा मयनले २४ रन जोडे। त्यसैगरी अरनिको यादवले अविजित ३२ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्याए भने पवन सर्राफले १७ रनको योगदान दिए।
कर्णालीका लागि दीपेन्द्र रावतले तीन विकेट लिए। दिवन पुन र प्रकाश जैसीले समान एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३१.२ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनाएको थियो। सुरुवातमै ११ रनमा दुई विकेट गुमाएको कर्णालीका लागि रवीन्द्र शाहीले सर्वाधिक ४० रन बनाए। अर्जुन घर्तीले २४ रन बनाउँदा विपिन रावल र दिनेश अधिकारीले समान १८–१८ रन जोडे।
कर्णालीलाई सानो स्कोरमा सीमित गर्न मधेसका युवा बलर आशिक बैठाले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभरमा ३४ रन खर्चेर चार विकेट लिए। प्रतियोगितामै डेब्यु गरेका बैठा ‘प्लेयर अफ द म्याच’ घोषित भए। यसैगरी विशाल पटेल र अरनिको यादवले समान दुई–दुई विकेट लिए भने प्रदीप पासवानले एक विकेट लिए।
नेपाल क्रिकेट संघको आयोजनामा चैत ७ गतेदेखि जारी प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिम सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट चार टोली आगामी जय ट्रफीका लागि छनोट हुनेछन्।





