प्रधानमन्त्री कप क्रिकेट: पुलिसको रोमाञ्चक जित, कोशी ६ विकेटले पराजित


eShilalekh

१७ चैत्र २०८२, मंगलवार १६:५०

सिमराः वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।

कोशीले प्रस्तुत गरेको एक सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले सुरुवातमा निकै खराब प्रदर्शन गरे पनि सम्हालिएको ब्याटिङ गर्दै ३३.५ ओभरमा ४ विकेट गुमाएर एक सय ६५ रन बनाउन सफल भयो।

पुलिसको जितमा कप्तान आरिफ शेख र रशिद खानको कीर्तिमानी साझेदारी मुख्य रह्यो। ११ रनको स्थितिमा ४ विकेट गुमाएर संकटमा परेको पुलिसको इनिङलाई उकास्ने क्रममा आरिफले ७९ बलमा ११ चौका र एक छक्कासहित अविजित ८१ रन बनाए भने रशिदले ९० बलमा ८ चौका र एक छक्का प्रहार गर्दै ७३ रनको महत्त्वपूर्ण योगदान दिए। यी दुई ब्याटरले पाँचौँ विकेटका लागि एक सय ५४ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितको दिशामा डोर्‍याएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेश ४३.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रनमा समेटिएको थियो। कोशीका लागि कप्तान सुजन थपलियाले ४८ रन र ओपनर सुमन श्रेष्ठले ४३ रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

कोशीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दिनेश खरेलले घातक बलिङ गर्दै एक्लैले ५ विकेट लिए। ‘प्लेयर अफ दि म्याच’ घोषित खरेलले फाइफर पूरा गर्दा ललित राजवंशी र सागर ढकालले समान दुई-दुई विकेट हात पारे। कोशीका बलर विपिन महतोले २ र दीपेश कंडेलले १ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

जितसँगै नेपाल पुलिस क्लब ५ खेलबाट ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान ७ अंक नै भए पनि नेट रनरेटका आधारमा मधेस प्रदेश दोस्रो स्थानमा झरेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार वीरगन्जमा नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने जनकपुरमा बागमती प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन्।

प्रतिक्रिया दिनुहोस्