सुपर ओभरमा लुम्बिनीको रोमाञ्चक जित, एपीएफ स्तब्ध


eShilalekh

१८ चैत्र २०८२, बुधबार १५:४१

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको रोमाञ्चक खेलमा लुम्बिनी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई सुपर ओभरमा पराजित गरेको छ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा दुवै टोली समान १२४ रनमा समेटिएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा लुम्बिनीले दिएको १५ रनको लक्ष्य पछ्याएको एपीएफ ६ रनमै सीमित भएपछि लुम्बिनीले ८ रनको महत्वपूर्ण जित दर्ता गर्‍यो।

लुम्बिनीका सन्तोष यादवले कसिलो बलिङ गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले एपीएफका कप्तान रोहित पौडेललाई एक रनमै आउट गराउँदै टोलीलाई दबाबमा राखेका थिए। लोकेश बमले ४ रन र सन्दीप जोराले १ रन मात्र जोड्न सके। सन्तोष यादव उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यसअघि सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १ विकेट गुमाएर १४ रन बनाएको थियो। सन्तोष यादवले ८ रन बनाउँदा कप्तान देव खनालले १ रन जोडे।

निर्धारित खेलमा एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२४ रनमै अलआउट भएको थियो। ३३औं ओभरमा ८ विकेट गुमाएर ११९ रन बनाएको अवस्थामा लुम्बिनीलाई जितका लागि ६ रन आवश्यक थियो। तर अन्तिम क्षणमा अभिषेक गौतमले लगातार दुई विकेट लिँदै खेल बराबरीमा रोकेका थिए।

लुम्बिनीका कप्तान देव खनालले ४५ रनको योगदान दिए। उनले ६४ बलमा ५ चौका प्रहार गरे। आकाश त्रिपाठीले ३२ रन र दर्श सोनारले १६ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

एपीएफका रोहित पौडेलले ३ विकेट लिए भने अभिषेक गौतम, युवराज खत्री र भूवन कार्कीले समान २/२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ३९.४ ओभरमा १२४ रनमै समेटिएको थियो। दीपक बोहोराले २०, सन्दीप जोराले १७, आशिफ शेख र लोकेश बमले समान १५/१५ रन बनाए। अभिषेक गौतमले २८ रन जोड्दा अन्य ब्याटरले खास प्रदर्शन गर्न सकेनन्।

लुम्बिनीका अजय चौहानले ४ विकेट लिए भने सन्तोष यादवले ३ विकेट झारे। निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट हात पारे।

जितसँगै लुम्बिनी प्रदेश अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। पाँच खेलमध्ये दुईमा जित, दुईमा हार र एक खेल वर्षाले रद्द हुँदा अंक बाँडेको थियो ।

यता एपीएफ क्लब भने छैटौं स्थानमा रहेको छ। प्रतियोगितामा सुखद् सुरुवात गरे पनि पछिल्ला खेलहरूमा एपीएफको प्रदर्शन निराशाजनक देखिएको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ भने वीरगन्जमै गण्डकी र सुदूरपश्चिमबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्