सन्दीपको शानदार बलिङ, कर्णाली ६० रनले पराजित


eShilalekh

१८ चैत्र २०८२, बुधबार १६:२५

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार बागमती प्रदेशले कर्णाली प्रदेशमाथि ६० रनको प्रभावशाली जित हात पारेको छ। जनकपुरधामस्थित रामजानकी क्रिकेट मैदानमा बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली १२० रनमै समेटिएको थियो।

बागमतीको जितमा कप्तान सन्दीप लामिछाने नायक बने। उनले ९.१ ओभरमा ४० रन खर्चेर ७ विकेट लिँदै कर्णालीको ब्याटिङ ध्वस्त पारे। सन्दीपले सुनिल धमला, निश्चल रावल, विपिन शाही, अर्जुन घर्ती, दीपेन्द्र रावत, दिनेश अधिकारी र दिवन पुनलाई आउट गरेका थिए।

बागमतीका रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीले समान एक–एक विकेट लिए। कर्णालीका निश्चल रावलले सर्वाधिक ३१ रन बनाए भने दिनेश अधिकारीले २२, विपिन शाहीले १५, सुनिल धमलाले १४ र दिवन पुनले १० रन जोडे।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमती ३८.४ ओभरमा १८० रनमा अलआउट भएको थियो। विवेक मगरले ५६ रनको अर्धशतकीय पारी खेले। उनले ८० बलमा २ चौका र ४ छक्का प्रहार गरे। इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कंसकारले २० र शिभम तिवारीले १८ रन बनाए। कप्तान सन्दीप लामिछाने भने २ रनमै रनआउट भए।

कर्णालीका कप्तान दिवन पुनले ३ विकेट लिए भने प्रकाश जैसी, दीपेन्द्र रावत र निश्चल रावलले समान २/२ विकेट हात पारे।

जितसँगै बागमती प्रदेश अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको बागमतीले मिश्रित प्रदर्शन गरेको छ। यता कर्णाली प्रदेश भने समान पाँच खेलबाट आठौं स्थानमा रहेको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ भने वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा गण्डकी र सुदूरपश्चिमबीच खेल हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा चैत ७ गतेदेखि जारी प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने शीर्ष चार टोली जय ट्रफीका लागि छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्