प्रधानमन्त्री कप क्रिकेट : मधेसको पहिलो हार, आर्मी ६ विकेटले बिजयी

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेसविरुद्व ६ विकेटको जित दर्ता गरेको छ । जनकपुरधामस्थित रामजानकी क्रिकेट मैदानमा मधेसले दिएको १८५ रनको लक्ष्य २९.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो ।
आर्मीको जितमा त्रितराज दासले ६९ रनको अर्धशतकीय पाली खेले । दासले ७२ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यसैगरी बसिर अहमदले अविजित ४१, कप्तान विनोद भण्डारीले ३२ र कुशल मल्लले २४ रन बनाए ।
मधेसका आदिल आलमले दुई विकेट लिए भने पवन सर्राफ र विशाल सिस्लुङले समान एक/एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको मधेसले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८४ रन जोडेको थियो । मधेसका लागि विशाल सुस्लिङले अर्धशतक बनाए । विशालले ७३ बलमा ५१ रन जोडे ।
यसैगरी कप्तान अनिल साहले ४२, पवन सर्राफले २२ र विशाल पटेलले १६ रन बनाए । मधेसका अन्य ब्याटर चल्न सकेनन् । मधेसलाई मध्यम योगफलमा रोक्न आर्मीले सात बलरको प्रयोग गर्यो । जसमध्ये बसिर अहमदले तीन विकेट चट्काउँदा साहब आलम र नरेन साउदले दुई–दुई विकेट लिए ।
यसैगरी आकाश चन्द, कुशल मल्ल र पवन कार्कीले एक-एक विकेट हात पारे । जितसंगै आर्मी शीर्षस्थानमा उक्लिएको छ । पाँच खेलबाट आर्मीले ९ अंक बटुलेको छ । प्रतियोगितामा पहिलो हार व्यहोरेको मधेस सात अंकका साथ चौथो स्थानमा झरेको छ ।





