गण्डकीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो  सुदूरपश्चिम


eShilalekh

१९ चैत्र २०८२, बिहीबार १७:५४

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिमले गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य ३९.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्दै सुदूरपश्चिमले जित पारेको हो ।

सुदूरपश्चिमका अभिषेक पालले ६६ रन बनाए । अभिषेकले ९३ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यसैगरी नारायण जोशीले अविजित ४५, दीपक बोहोराले ३५ र मिलन बोहोराले १५ रन जोडे । गण्डकीका विपिन खत्रीले १० ओभरमा ३६ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी कृष्ण पौडेल, सुवास भण्डारी र बिश्व कार्कीले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर एक सय ९० रन बनाएको थियो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले ४४, कप्तान विपिन खत्रीले ३०, सुवास भण्डारीले २४, दीपक डुम्रेले २२, कृष्ण पौडेलले १५, गौरव विकले १४ र किब्रिन श्रेष्ठले १३ रन बनाए ।

सुदूरपश्चिमका कप्तान शेर मल्लले पाँच विकेट लिए । प्लेयर अफ दि म्याच घोषित मल्लले १० ओभरमा ४२ रन खर्चिएर पाँच विकेट लिएका हुन् । यसैगरी हेमन्त धामी र अशोक धामीले समान दुई-दुई विकेट लिए भने मिलन बोहोराले एक विकेट हात पारे । जितसँगै सुदूरपश्चिम आठ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान पाँच खेल खेलेको गण्डकी तीन अंकसहित नवौं स्थानमा छ ।

पहिलो खेलमा कर्णालीलाई चार विकेटले पराजित गरेको सुदूरपश्चिम दोस्रो खेलमा मधेससँग पाँच विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा कोशीलाई सात विकेटले हराएको सुदूरपश्चिमले चौथो खेलमा लुम्बिनीविरुद्ध १२ रनको जित निकालेको थियो ।

यता प्रतियोगितामा खराब प्रदर्शन गर्दै आएको गण्डकीले पहिलो खेलमा बागमतीसँग १७० र दोस्रो खेलमा आर्मीसंग सात विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा वर्षा बाधक हुँदा पुलिससँग अंक बाँडेको गण्डकीले चौथो खेलमा भने एपीएफ क्लबलाई ४३ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्