प्रधानमन्त्री कप क्रिकेट: गण्डकी ३९ रनले बिजयी

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले हराएको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा २२७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कोशीलाई १८८ रनमा रोक्दै गण्डकीले जित हात पारेको हो ।
कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन मात्रै जोड्न सक्यो । कोशीका दिपेश कंडेलले अर्धशतक बनाएपनी हार टार्न सकेनन्। दिपेशले ७१ बलमा ५० रन जोडे । यसैगरी आशिष मगरले ३०, सुमन श्रेष्ठले २०, सकिब हकले १७, शिवांश बजगाईंले १५ रन बनाए ।
गण्डकीका किब्रीन श्रेष्ठले तीन विकेट लिँदा अप्राजित पौडेल र सुवास भण्डारीले दुई/दुई विकेट हात पारे । कप्तान विपिन खत्री र कमल परियारले एक/एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा सात विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।
६० रनको स्थितिमा ६ विकेट गुमाएको गण्डकीलाई सम्हाल्दै ओपनर अर्जुन कुमालले शानदार शतक प्रहार गरेर बलियो योगफल बनाएका थिए । निर्धारित ५० ओभरको अन्तिम बलमा रनआउट भएका अर्जुनले १४१ बलको सामना गर्दै १०२ रन जोडे ।
अर्जुन प्लेयर अफ दि म्याच घोषित भए । उनलाई मधेस प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजी गुप्ताले पुरस्कृत गरे ।
अर्जुनसंग १७६ रनको साझेदारी गरेका विपिन खत्रीले अर्धशतक प्रहार गरे । विपिनले ८६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७६ रन बनाए ।
कोशीविरुद्ध खराब सुरुवात गरेको गण्डकीका ओपनर गौरव विक शून्यमै पेभेलियन फर्किदा किब्रीन श्रेष्ठ र दिनेश बुढामगरले समान एक रनमै आउट भए । दीपक डुम्रेले १५ रन र मुस्कान थापा १० रन जोडेर आउट हुँदा गण्डकी दवावमा परेको थियो ।
गण्डकीको सुरुवाती ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कोशीका दिपेश कंडेलले चार विकेट लिए । १० ओभर बलिङ गरेका दिपेशले तीन मेडन सहित १८ रन खर्चिएर चार विकेट लिएका हुन् । राकेश साह र सुजन थपलियाले एक/एक विकेट हात पारे।
जितसंगै गण्डकी पाँच अंकसहित तालिकाको सातौं स्थानमा छ भने लगातार पराजित भएको कोशी एक अंकसहित तालिकाको पुछारमा छ ।





