सर्लाहीको लगातार दोस्रो जित, बारा ४१ रनले पराजित


eShilalekh

२२ चैत्र २०८२, आईतवार १८:३९

सिमरा: जीतपुरसिमरा क्रिकेट कपमा सर्लाही जिल्ला क्रिकेट संघले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित हात पारेको छ। उद्घाटन खेलमा पर्सालाई स्तब्ध बनाएको सर्लाहीले आइतबार बारालाई ४१ रनले पराजित गर्दै आफ्नो जितको यात्रालाई निरन्तरता दिएको हो।

जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको बारा १५.५ ओभरमा ११० रनमै समेटिएपछि सर्लाहीले जित निकाल्यो । सर्लाहीका जितेश मण्डलले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। अभय यादव, अली हसन र राहुल महतोले समान दुई/दुई विकेट हात पार्दा चक्रधार यादवले एक विकेट लिए ।

बाराका लागि रविकुमार साहले २७ रन बनाए भने भुलावन सहनीले २० रन जोडे। त्यस्तै महमद साहिद अलीले ११ र सिराज हवारीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। सर्लाहीका अली हसनले ३८ रनको महत्वपूर्ण योगदान दिए भने रोशन राउतले ३४ रन बनाए । रञ्जित यादव ३३ रनमा अविजित रहे ।

बलिङतर्फ बाराका मन्नु हवारी र भुलावन सहनीले दुई/दुई विकेट लिए। रविकुमार साह, सिराज हवारी, युवराज सर्राफ र रोहन साहले समान एक/एक विकेट हात पारे।

उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सर्लाहीका अली हसन ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिता अन्तर्गत सोमबार बारा र पर्साबीच प्रतिस्पर्धा हुनेछ। जीतपुरसिमरा स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्