अर्जुनको शतकमा आर्मीको शानदार जित, कर्णाली १३८ रनले पराजित

वीरगन्जः अर्जुन साउदको उत्कृष्ट शतकीय इनिङ्सको मद्दतमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको छ।
वीरगन्जस्थित नारायणी मैदानमा सोमबार सम्पन्न खेलमा २६९ रनको लक्ष्य पछ्याएको कर्णाली १३० रनमै समेटियो। प्रतियोगितामा अपराजित यात्रा कायम राख्ने क्रममा आर्मीले सहज जित दर्ता गर्यो।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक ४० रन बनाए भने अर्जुन घर्तीले ३२, दीपेन्द्र रावतले २५ र सुनिल धमलाले १० रन जोडे। अन्य ब्याटर प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
आर्मीका बसिर अहमद र साहब आलमले समान तीन/तीन विकेट लिए। आकाश चन्दले दुई विकेट झारे भने दुर्गेश थापा र नरेन साउदले एक/एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन बनाएको थियो। आर्मीको इनिङ्समा अर्जुन साउद नायक बने। उनले १२० बलमा १० चौका र तीन छक्का प्रहार गर्दै १२१ रनको उत्कृष्ट पाली खेले।
आर्मी दबाबमा परेको अवस्थामा अर्जुनले बसिर अहमदसँग महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। बसिरले ४५ रन योगदान गरे भने सन्तोष कार्कीले २९, नरेन साउदले २० र साहब आलमले १७ रन जोडे।
कर्णालीका दिनेश अधिकारीले चार विकेट लिए भने प्रकाश जैसीले तीन विकेट झारे। राजु साह, विपिन शर्मा र दीपेन्द्र रावतले समान एक/एक विकेट लिए।
जितसँगै आर्मीले प्रतियोगितामा पाँचौं जित निकाल्दै ११ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कर्णाली भने तीन अंकसहित नवौं स्थानमा रहेको छ।





