एपीएफको जितमा युवराज खत्री नायक, सुदूरपश्चिम ४५ रनले पराजित

वीरगन्जः युवराज खत्रीको उत्कृष्ट बलिङ प्रदर्शनमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ४५ रनले पराजित गरेको छ।
जनकपुरधामस्थित रामजानकी मैदानमा सोमबार सम्पन्न खेलमा २६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१४ रनमै समेटिँदा एपीएफले महत्वपूर्ण जित दर्ता गर्यो।
सुदूरपश्चिमका लागि अशोक धामीले आक्रामक अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ४३ बलमा सात चौका र एक छक्का प्रहार गर्दै उत्कृष्ट इनिङ्स खेले। अभिषेक पालले ४४, दीपक बोहोराले २४, मिलन बोहोराले २३ रन जोडे। कप्तान शेर मल्ल १७ रनमा अविजित रहे भने खड्का बोहोराले १६ र नरेन भट्टले १५ रन बनाए ।
एपीएफको जितमा युवराज खत्री नायक बने। उनले १० ओभरमा ३४ रन खर्चेर पाँच विकेट लिए। प्लेयर अफ द म्याच घोषित खत्रीले १२औं ओभरमा दुई तथा ४२औं ओभरमा तीन विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पारे।
अभिषेक गौतमले दुई विकेट लिँदा कप्तान रोहित पौडेल र कमल ऐरीले समान एक/एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनाएको थियो। एपीएफका लागि सन्दीप जोराले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४५ बलमा ९ चौका र एक छक्का प्रहार गरे। लोकेश बमले ४७, दीपक बोहोराले ४४ र सुमित महर्जनले ४१ रनको योगदान दिए।
सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने अशोक धामी र विकास आग्रीले दुई/दुई विकेट लिए। हेमन्त धामी र नरेन भट्टले समान एक/एक विकेट लिए।
यो जितसँगै एपीएफले दुई अंक जोड्दै तालिकाको छैटौं स्थानमा आफ्नो स्थिति मजबुत बनाएको छ। हारसँगै सुदूरपश्चिम दोस्रो स्थानमा झरेको छ। यसअघि आइतबार बागमतीलाई १६३ रनले हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको थियो। तर सोमबार आर्मीले कर्णालीलाई १३८ रनले पराजित गर्दै पुनः शीर्ष स्थान कब्जा गरेको छ।





