सन्दीप चम्किँदा बागमतीको जित, कोशी सात विकेटले पराजित

सिमराः कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार कोशी प्रदेशमाथि सहज जित निकालेको छ। जनकपुरधामस्थित रामजानकी मैदानमा सम्पन्न खेलमा बागमतीले कोशीलाई सात विकेटले पराजित गरेको हो।
कोशीले प्रस्तुत गरेको एक सय रनको सामान्य लक्ष्य बागमतीले मात्र ९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। बागमतीको जितमा विवेक मगरले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा अविजित ६१ रनको योगदान दिए। उनले दुई छक्का र १० चौका प्रहार गरे। प्रतिश जिसीले पाँच बलमै १७ रन जोड्दै टोलीलाई जिततर्फ डोर्याए।
बागमतीले सुरुआतमा भने केही विकेट गुमाएको थियो। ओपनर रिङजिन लामा १७ रनमा आउट हुँदा शुभ कंसकार एक रनमै पवेलियन फर्किए। इशान पाण्डे भने खाता नै नखोली आउट भए।
बलिङतर्फ कोशीका विपिन महतोले दुई विकेट लिँदा ज्ञानेन्द्र श्रेष्ठले एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी २८.२ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो। कोशीका कप्तान सुजन थपलियाले सर्वाधिक २० रन बनाए। अंकित सुवेदीले १९, रोहन साहले १८ र शिवांश बजगाईंले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
कोशीलाई सस्तोमै समेट्ने क्रममा बागमतीका कप्तान सन्दीप लामिछाने नायक बने। उनले ७.२ ओभरमा ३३ रन खर्चिँदै पाँच विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए। यसैगरी रिजन ढकालले दुई विकेट लिँदा प्रतिश जिसी र इशान पाण्डेले समान एक/एक विकेट लिए।
यस जितसँगै बागमती अंक तालिकामा एक स्थान माथि उक्लिएको छ। सात खेलबाट ६ अंक जोडेको बागमती मध्यम स्थानमा पुगेको छ भने सात खेलबाट मात्र एक अंक बटुलेको कोशी अंक तालिकाको पुछारमा रहेको छ।





