बागमतीद्वारा मधेसलाई २०९ रनको लक्ष्य, एपीएफले कोशीलाई दियो २२६ रनको चुनौती


eShilalekh

२७ चैत्र २०८२, शुक्रबार १३:००

सिमराः प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत नारायणी क्रिकेट मैदानमा जारी खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई २०९ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २०८ रन बनायो।

बागमतीका लागि उत्तम मगरले सर्वाधिक ४४ रन बनाए भने कप्तान सन्दीप लामिछानेले ३६ रनको योगदान दिए। उनले एक छक्का र चार चौका प्रहार गरे। यस्तै रिङझिङ लामाले २९ र आशुतोष घिरैयाले १८ रन जोडे।

मधेसका बलर पवन सर्राफले तीन विकेट लिए। आदिल आलम र रञ्जित कुमारले दुई/दुई विकेट लिँदा प्रदीप पासवान, विशाल पटेल र अरनिको यादवले एक/एक विकेट हात पारे।

प्रतियोगिताको अंकतालिकामा मधेस ९ अंकसहित चौथो स्थानमा रहेको छ भने बागमती ६ अंकका साथ सातौं स्थानमा छ।

त्यसैगरी जनकपुरस्थित रामजानी क्रिकेट मैदानमा जारी अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशलाई २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको एपीएफले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनायो।

एपीएफका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ७२ रन बनाए। उनले ९४ बलमा एक छक्का र आठ चौका प्रहार गरे। सुमित महर्जनले ५७ रन जोड्दै अर्धशतक पूरा गरे। अमर रौतेलाले २७, कप्तान रोहित पौडेलले २० र युवराज खत्रीले ११ रन बनाए।

कोशीका बलर सुजन थपलियाले तीन विकेट लिए भने विपिन महतो, दीपेश कंडेल र रोहन साहले समान एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्