प्रतिशको बलिङमा बागमतीको महत्वपूर्ण जित


eShilalekh

२७ चैत्र २०८२, शुक्रबार १६:१९

वीरगन्जः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती प्रदेशले महत्वपूर्ण जित हात पारेको छ । वीरगन्जस्थित नारायणी मैदानमा २०८ रनको लक्ष्य पछ्याएको मधेसलाई १७३ रनमा रोक्दै बागमतीले ३५ रनको जित निकालेको हो ।

बागमतीको जितमा प्रतिश जिसीले शानदार बलिङ गर्दै पाँच विकेट लिए । प्लेयर अफ दि म्याच प्रतिशले ९.३ ओभर बलिङ गर्दै ५५ रन खर्चिएर महत्वपूर्ण पाँच विकेट हात पारेका हुन् । प्रतिशको बलिङमा मधेसको ब्याटिङ लाइनअप धरासायी बन्न पुगेको थियो ।  

प्रतिशले मधेसका कप्तान अनिल साहसहित मयन यादव, पवन सर्राफ, अरनिको यादव र प्रदीप पासवानलाई पेभेलियन फर्काए । यस्तै रिजन ढकालले दुई, कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले एक/एक विकेट लिए ।

मधेसका ओपनर मयन यादवले सर्वाधिक ४० रन बनाए । यसैगरी आदिल आलम २७, अनिल साह २६, विशाल सुस्लिङले २१, महमद समीरले १६ रन जोडेपनि जितका लागि पर्याप्त भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०८ रन जोडेको थियो ।

बागमतीका लागि उत्तम मगरले सर्वाधिक ४४ रन बनाएका थिए भने कप्तान सन्दीप लामिछानेले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३६ रन जोडेका थिए । सन्दीपले एक छक्का र चार चौका प्रहार गरे । यसैगरी ओपनर रिङझिङ लामाले २९ र आशुतोष घिरैयाले १८ रन बनाए ।

मधेसका पवन सर्राफले तीन विकेट चट्काउँदा आदिल आलम र रञ्जित कुमारले दुई/दुई विकेट लिए । यसैगरी प्रदीप पासवान, विशाल पटेल र अरनिको यादवले एक/एक विकेट लिए ।

जितसंगै बागमती पाँचौं स्थानमा उक्लिएको छ । बागमतीले आठ खेलबाट आठ अंक बटुलेको छ । मधेस ९ अंकसहित चौथो स्थानमा कायम छ ।  

प्रतिक्रिया दिनुहोस्