जीतपुरसिमरा क्रिकेट कपः उपाधीका लागि चितवन र सर्लाही भिड्ने


eShilalekh

२७ चैत्र २०८२, शुक्रबार १८:२४

सिमराः तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि चितवन र सर्लाहीबीच प्रतिस्पर्धा हुने भएको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई पराजित गर्दै चितवनले फाइनलमा स्थान सुरक्षित गरेको हो।

सेज क्रिकेट मैदान औराहमा सम्पन्न खेलमा १४६ रनको लक्ष्य पछ्याएको चितवनले १६.५ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। चितवनको जितमा सुदीप अर्यालले अविजित ३० रनको महत्वपूर्ण योगदान दिए। यस्तै रोशन झाले २८, आर्या महतोले २२, डेनिल गुरुङले १३, प्रतिक श्रेष्ठले १२ र रिजन काफ्लेले १० रन जोडे।

आयोजकका बलर राहुल यादव, अजय पटेल र रोशन पोखरेलले समान दुई/दुई विकेट लिए भने रेहान जाकिर र रेयाज शेखले एक/एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जीतपुरसिमराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो । आयोजकका कमलेश दासले ३६, विजय गुप्ताले २८, विकास सर्राफले १७ र अजय पटेलले १६ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

चितवनका लागि गौतम केसीले तीन विकेट लिए भने सुमित शर्मा र जेनिश महतले एक/एक विकेट लिए ।

उत्कृष्ट प्रदर्शनका लागि चितवनका सुदीप अर्याल प्लेयर अफ दि म्याच घोषित भए। उनलाई युवा व्यवसायी प्रफुल्ल शमशेर राणाले पुरस्कृत गरे। साथै मनिष सापकोटाले जनकपुर बोल्ट्सको जर्सी प्रदान गरेका थिए।

प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा हुने समापन समारोहमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का तथा पूर्व कप्तान विनोद दासको समेत उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्