सर्लाहीले उचाल्यो तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधि


eShilalekh

२८ चैत्र २०८२, शनिबार १९:०९

क्यानका सचिव पारस खड्काले मैदानमै आएर अवलोकन गरे खेल

सिमराः एक रनको रोमाञ्चक जित हात पार्दै सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधि उचालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा भरतपुर क्रिकेट एकेडेमीलाई चितवनलाई एक रनले हराउँदै सर्लाहीले उपाधि जितेको हो ।

सर्लाहीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । जितका लागि अन्तिम ६ बलमा १२ रन आवश्यक रहेको चिवतनले १० रन मात्रै बनायो ।

चितवनका प्रतिक श्रेष्ठले ४७ रनको इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । प्रतिकले ३७ बलमा चार छक्का र एक चौका प्रहार गर्दै जित नजिक पुर्याएका थिए । रोहन झाले २३ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ४३ रन जोडे । रिजन काफ्लेले ३१ र आर्या महतोले १६ रन बनाए ।

उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र उपसचिव शिवजी प्रसाद ।

सर्लाहीका राहुल महतोले दुई विकेट लिए भने चक्रधार यादव र अभय यादव एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको सर्लाहीले अली हसनको अर्धशतकमा पाँच विकेट गुमाउँदै १६० रन जोडेको थियो । ४८ बल खेलेका अलीले दुई छक्का र पाँच चौकासहित ५३ रन बनाए । सर्लाहीका जितेश मण्डलले पनि विष्फोटक ब्याटिङ गर्दै ३८ रन जोडे । जितेशले १४ बलमा चार छक्का र दुई चौका प्रहार गरे । ओपनर आरिफ राजाले २८ रन बनाउँदा परिमार्जन यादवले २० रन बनाए ।

चितवनका दिपेश श्रेष्ठले दुई विकेट लिँदा सुमित अर्याल, प्रतिक श्रेष्ठ र सुमित शर्माले एक/एक विकेट हात पारे ।

उत्कृष्ट बलरलाई जनकपुर बोल्ट्सको जर्सी प्रदान गर्दै महेश सिग्देल ।

उपाधि विजेता सर्लाहीले दुई लाख र उपविजेता चितवनले एक लाख नगद प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सर्लाहीका अली हसन घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार समेत प्राप्त गरेका अलीले १५ हजार हात पारे ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर बारा जिल्ला क्रिकेट संघका साहिल पटेल घोषित भए भने उत्कृष्ट बलरको उपाधि जितेश मण्डलले पाए । विधागततर्फ उत्कृष्ट भएका खेलाडीले जनही पाँच हजार नगद पाएका छन् ।

प्लेयर अफ दि सिरिज अली हसनलाई पुरस्कृत गर्दै उपसचिव शिवजी प्रसाद ।

उपाधि विजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख उपसचिव शिवजी प्रसाद, जनकपुर बोल्ट्सका संचालक महेश सिग्देल, विनायक ईण्डष्ट्रिज प्रालिका संचालक रम्भु चौधरी, राधाकृष्ण मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठ, सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष युवराज न्यौपाने, औराहका व्यवसायी विष्णु दाहाल, आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबका अध्यक्ष सोमलाल बम्जनलगायतले विजेता, उपविजेता र विधागततर्फको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरेका थिए ।

प्लेयर अफ दि म्याच अली हसनलाई पुरस्कृत गर्दै विनायक ईण्डष्ट्रिजका संचालक रम्भु चौधरी ।

यसअघि खेल संचालन भईरहेका बेला नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, नेपाल क्रिकेट संघ मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवालसहितका पदाधिकारी मैदानमा उपस्थित भएका थिए । क्यान सचिव खड्का केहीबेर खेल अवलोकन गरेर धनुषा प्रस्थान गरेका थिए ।

फाइनल खेल हेर्दै क्यान सचिव पारस खड्का ।

चैत २१ गते सुरु भएको प्रतियोगितामा आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनको सहभागिता रहेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा तीन वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको छ ।

तीन वर्षदेखिको निरन्तरताले यसपटक नेपाल प्रिमियर लिगको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स समेत यस प्रतियोगितामा जोडिएको छ । जनकपुर बोल्ट्सले आयोजक क्लबलाई जर्सी उपलब्ध गराउनुका साथै प्रत्येक दिनको प्लेयर अफ म्याच र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जर्सी हस्तान्तरण गरेको छ ।

जनकपुर बोल्ट्सका संचालक उत्सव सिग्देलका पिता महेशले जीतपुरसिमरामा सुविधासम्पन्न रंगशाला बनाउन आफूहरु इच्छुक रहेको बताउँदै आएका छन् । जसका लागि जमिन उपलब्ध गराईदिन सिग्देलले उपमहानगरपालिकासंग अनुरोध गरेका छन् ।
प्रतियोगिताको निरन्तरताले नगर क्षेत्रभित्र क्रिकेटको गतिविधि बढिरहेको नगर प्रमुख पौडेलले बताए । उनले खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

आयोजक जीतपुरसिमरा स्पोर्ट्स क्लबका अध्यक्ष सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न समापन समारोहको सहजीकरण नविन खड्काले गरेका थिए ।

उत्कृष्ट बलर जितेश मण्डललाई पुरस्कृत गर्दै औराहका व्यवसायी विष्णु दाहाल ।

सत्यबहादुर श्रेष्ठबाट उत्कृष्ट ब्याटर साहिल पटेलको पुरस्कार लिँदै खेलाडी भुलावन सहनी

उपविजेता भरतपुर क्रिकेट एकेडेमी
क्यान सचिव पारस खड्कालाई मायाको चिनो प्रदान गर्दै आयोजक क्लबका अध्यक्ष सोमलाल बम्जन ।

प्रतिक्रिया दिनुहोस्