सुदूरपश्चिमसँग पराजित हुँदै पुलिस उपाधि होडबाट बाहिरियो

वीरगन्जः चार पटकको विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। जनकपुरस्थित रामजानकी मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग ५६ रनले पराजित भएपछि पुलिसको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो।
प्रतियोगिताको तालिकामा शीर्ष दुई टोलीले मात्र फाइनल खेल्ने प्रावधान अनुसार अब एक खेल बाँकी रहे पनि पुलिस शीर्ष दुईमा पुग्न नसक्ने अवस्थामा पुगेको छ। आठ खेलबाट ९ अंक जोडेको पुलिस हाल तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १३ तथा दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको १२ अंक छ।
उपाधि दौडमा कायम रहन पुलिसलाई सुदूरपश्चिमविरुद्ध जित आवश्यक थियो। तर १९२ रनको लक्ष्य पछ्याएको पुलिस १३५ रनमै समेटियो। पुलिसका लागि गुलशन झाले अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। कप्तान आरिफ शेख, अमृत श्रेष्ठ र दिलसाद अलीले समान १९ रन बनाए भने दिनेश खरेल र शंकर रानाले १०/१० रन जोडे। ओपनर कुशल भुर्तेल भने शून्यमै आउट भए।
सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान तीन विकेट लिए। नारायण जोशी, अशोक धामी र खड्क बोहोराले एक/एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४०.४ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। सुदूरपश्चिमका नारायण जोशीले ८२ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए। उनले ८० बलमा ६ छक्का र ७ चौका प्रहार गर्दै ‘प्लेयर अफ दि म्याच’ घोषित भए। खड्का बोहोराले २२, हेमन्त धामीले २०, अशोक धामीले १८, किरण ठगुन्नाले १७ र राजु रिजालले १६ रन जोडे।
पुलिसका लागि दिनेश खरेलले चार विकेट लिए भने सागर ढकालले तीन विकेट चट्काए। कुशल भुर्तेलले दुई र गुलशन झाले एक विकेट लिए।





