आशिफ शेखको दोहोरो शतकमा एपीएफको कीर्तिमानी स्कोर, मधेस दबाबमा


eShilalekh

३० चैत्र २०८२, सोमबार १५:१०

वीरगन्जः आशिफ शेख को ऐतिहासिक ब्याटिङ प्रदर्शनले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको टोली दबाबमा परेको छ।

घरेलु मैदानमा सोमबार एपीएफ क्लबविरुद्ध खेल्दै आशिफले विस्फोटक दोहोरो शतक प्रहार गरेपछि मधेसका लागि लक्ष्य निकै कठिन बनेको हो। एपीएफले आशिफकै उत्कृष्ट इनिङ्सको मद्दतमा ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रनको विशाल योगफल तयार गर्यो ।

आशिफले १४२ बलमा २०८ रन बनाउँदै प्रतियोगिताको एउटै इनिङ्समा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान कायम गरे। यसअघि उक्त रेकर्ड प्रदीप ऐरीको नाममा थियो । ऐरीले सन् २०१८ मा १५८ रन बनाएका थिए।

त्यसैगरी आशिफले एउटै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाए। उनले १७ छक्का र १५ चौका प्रहार गरे। यसअघि ११ छक्का प्रहार गर्ने कीर्तिमान सुन्दर खनाल को नाममा थियो।

एपीएफका लागि कप्तान रोहित पौडेल ले ५५ रन तथा सन्दीप जोरा ले ५६ रनको योगदान दिए। मधेसका रुपेश सिंह ले ३ विकेट तथा रञ्जित कुमार ले १ विकेट लिए।

यसअघि नेपाल पुलिस क्लबले बनाएको ३३५ रनको कीर्तिमान तोड्दै एपीएफले नयाँ टिम रेकर्ड समेत कायम गर्यो ।

विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मधेसले भने कमजोर सुरुवात गर्‍यो। ३७ ओभरमा पाँच विकेट गुमाउँदै मधेसले १७४ रन जोडेको छ। अरनिको यादवले ८६, कप्तान अनिल साहले २९ रन र महमद समीरले २२ रन बनाएर आउट भए। ओपनर मयन यादव शून्यमै आउट भए।

एपीएफले विशाल लक्ष्य खडा गरेसँगै मधेसको फाइनल पुग्ने सम्भावना निकै कठिन देखिएको छ।

प्रतिक्रिया दिनुहोस्