पर्साको महुवनटोलमा भीषण आगलागी: तीन घर नष्ट, लाखौँको क्षति

वीरगन्ज: पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ स्थित महुवनटोलमा सोमबार राति विद्युत सर्ट भई भीषण आगलागी हुँदा तीन वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
राति करिब ११:४५ बजे स्थानीय संजय राम र मन्जय रामको घरबाट सुरु भएको आगोले छिमेकी घरहरूलाई समेत चपेटामा लिएको थियो। प्रहरी चौकी महुवनका अनुसार अचानक सल्किएको आगोले घरभित्र रहेका सम्पूर्ण खाद्यान्न, लत्ताकपडा र महत्त्वपूर्ण कागजातहरू खरानी बनाएको छ।
आगलागीमा परेर घरभित्र राखिएका गरगहना, अन्नबाली (धान र गहुँ), फर्निचर, फ्रिज, ग्यास सिलिन्डर, विद्युत सामग्री तथा मोबाइल लगायतका जिन्सी सामानहरू पूर्ण रूपमा नष्ट भएका छन्। भौतिक सामग्रीका अतिरिक्त गोठमा रहेका दुई वटा बाख्रा, एउटा मोटरसाइकल र घरमा राखिएको नगद ३ लाख ५० हजार रुपैयाँ समेत जलेर नष्ट भएको छ।
घटनाको जानकारी पाएलगत्तै सखुवाप्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। संयुक्त प्रयासमा राति १२:४५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार आगलागीबाट करिब १६ लाख ९८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। घटनामा कुनै मानवीय क्षति नभए पनि पीडित परिवारहरू विचल्लीमा परेका छन्।





