सिटिजन्स बैंक पथलैया शाखाद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

सिमरा: बाराको पथलैयास्थित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सोमबार एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ। आफ्नो १९औं वार्षिकोत्सवका अवसरमा बैंकले जीतपुरसिमरा १६ सखुवाघाटस्थित जनजागृति माध्यमिक विद्यालयलाई एक थान कम्प्युटर प्रदान गरेको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका मधेश प्रदेशका व्यवसाय अधिकृत सुरेशप्रसाद थपलिया र पथलैया शाखाका प्रबन्धक पुष्पराज भण्डारीले व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई कम्प्युटर हस्तान्तरण गरेका हुन्। बैंकका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै यस्तो सहयोगले विद्यार्थीहरूको सिकाइ अनुभवलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त कम्प्युटरले विद्यालयको शैक्षिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर राना मगरले पनि बैंकको पहलको सराहना गर्दै आगामी दिनमा यस्ता सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा बैंकका तर्फबाट सहायक प्रबन्धक रोशन कुमार सर्राफ, कर्मचारी उमेश कुँवर, विद्यालयका लेखा शाखाका कर्मचारी राजेश थापामगर, शिक्षकलगायतको उपस्थिति रहेको थियो।
सिटिजन्स बैंकको पथलैयास्थित शाखाले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकका बैंकका शाखा प्रवन्धक भण्डारीले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै सामाजिक योगदानमा प्रत्यक्ष सहभागी हुने बताएका छन् ।





