सिमरा जेसीजको आयोजनामा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न


eShilalekh

१२ बैशाख २०८३, शनिबार १७:१०

सिमरा: सिमरा जेसीजको आयोजनामा शनिबार नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । सिमरा मलस्थित ओम शान्ती दाँत तथा आँखा अस्पताल परिसरमा आयोजित शिविरमा ६० जनाले आँखा तथा दाँतको परीक्षण गराएका थिए ।

शिविरमा दन्त चिकित्सक हितेश कर्ण, पुष्पा कुशवाहा, नेत्र चिकित्सक बिनय चौधरी र डेन्टल हाइजिनिस्ट (डीएच) एवम् अस्पतालका सञ्चालक ध्रुवकुमार सहनीले परीक्षण तथा प्राविधिक सेवा प्रदान गरेका थिए । कार्यक्रमको प्राविधिक सहयोग ओम शान्ती दाँत तथा आँखा अस्पताल प्रालिले गरेको थियो ।

यसअघि सिमरा जेसीजका अध्यक्ष सुमित अधिकारीको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा शिविर संयोजक सुयोग अधिकारी, सिमरा जेसीजका पूर्वअध्यक्ष शालिकराम अधिकारी, लक्की रिमाल, महासचिव सन्जिव सुवेदी, कोषाध्यक्ष रेवती देवकोटालगायतको उपस्थिति रहेको थियो ।

सिमरा जेसीजले सामाजिक तथा रचनात्मक गतिविधिहरू संचालन गर्दै आएको जनाएको छ । सिमरा जेसीजले यसअघि चैत १२ गते छात्रा लक्षित मर्यादित महिनावारी सचेतना कार्यक्रम, चैत २९ गते करियर काउन्सिलिङ तथा प्रेरणादायी तालिमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्