झापामा हुने तेक्वान्दो प्रतियोगितामा मधेसका १२ खेलाडी सहभागी हुने

सिमराः झापामा बैशाख अन्तिम साता हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेसबाट १२ जना खेलाडी सहभागी हुने भएका छन् । सिरहामा सम्पन्न छनौट खेलबाट ग्योरुगीतर्फ १० र पुम्सेतर्फ दुई खेलाडी चयन भएका हुन् ।
मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाका अनुसार प्रतियोगितामा ६ पुरुष र ६ महिला खेलाडी सहभागी हुनेछन् । सहभागी हुनेमा ग्योरुगीतर्फ सिद्धान्त मोक्तान, आसिफ हुसेन, दिलबहादुर तामाङ, शिवमकुमार साह, वर्षात मोक्तान, रञ्जु दास, पुनम यादव, बिनिमाया मोक्तान, खुशी ठाकुर र नाजिया सिद्धीकी रहेका छन् । पुम्सेतर्फ निश्चल धामी र रियाना डिमडुङले प्रतिस्पर्धा गर्नेछन् ।
सिरहाको धनगढीमाई नगरपालिका ९ बुद्धनगरस्थित निर्मल लामा स्मृति कभर्ड हलमा खेलाडी छनौट गरिएको हो । महासचिव लामाको विशेष उपस्थितिमा सम्पन्न छनौटमा सचिव शमशेर थापा, सिरहाका अध्यक्ष ध्रुव मोक्तान, धनुषाका अध्यक्ष तिलक लामा, रौतहटका अध्यक्ष केशवबहादुर खड्का, पर्साका अध्यक्ष गणेशमान श्रेष्ठ, व्यवस्थापक बिजय शाह ठकुरी सहभागी थिए ।
झापाको विर्तामोडमा बैशाख २५ र २६ गते प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा सात प्रदेश र विभागीय टिमले सहभागिता जनाउनेछन् ।
मधेसको मुख्य प्रशिक्षकमा प्रमोद ठाकुर रहनेछन् भने गणेशमान श्रेष्ठले रेफ्रीको भूमिका निभाउनेछन् ।






