बाराले उचाल्यो डुमरवाना यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि

सिमराः बाराले छैटौं डुमरवाना यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । रौतहटलाई चार विकेटले पराजित गर्दै बाराले प्रतियोगिताको उपाधि उचालेको हो ।
डुमरवाना खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा रौतहटले प्रस्तुत गरेको १६१ रनको बाराले ६ विकेटको क्षतिमा पूरा गर्यो । बाराका लागि साहिल पटेलले अविजित ४० रन बनाए । यसैगरी ओपनर सुशान्त सिंहले ३५, निरज यादवले ३४ र प्रियांश सर्राफले २८ रन बनाए ।
रौतहटका लागि राहुल यादव र आशिक बैठाले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रौतहटले २८.१ ओभरमा सबै विकेट गुमाएर १६० रन जोडेको थियो । रौतहटका ओपनर बिजय गुप्ताले सर्वाधिक ३९ रन बनाए । राहुल यादवले ३६, माही यादवले ३२ र प्रिन्स यादवले ३१ रन जोडे ।
बाराका धिरेन्द्र पासवान र रोहन साहले तीन/तीन विकेट लिए । प्रियांश सर्राफ, जयदीप सहनी र खिलराज सर्राफले एक/एक विकेट हात पारे ।

प्रतियोगिता विजेता बाराले एक लाख र उपविजेता रौतहटले ५० हजार नगद प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बाराका साहिल पटेल घोषित भएका छन् । साहिलले उत्कृष्ट ब्याटर र फाइनल खेलको प्लेयर अफ दि सिरिजको उपाधि समेत हात पारेका छन् । उत्कृष्ट बलर बाराका खिलराज सर्राफ घोषित भएका छन् ।
विजेता, उपविजेता र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, जीतपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेलगायतले पुरस्कृत गरेका थिए ।
प्रगतिशील युवा क्लबको आयोजनामा बैशाख १८ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।






