वीरगन्जमा ‘नेपाल शिक्षा मेला २०२६’ सम्पन्न

सिमराः वीरगन्जमा सोमबार ‘नेपाल शिक्षा मेला २०२६’ सम्पन्न भएको छ । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिन गर्दै शैक्षिक मेला आयोजना गरिएको हो ।
मेलामा देशभरका १५ भन्दा बढी प्रतिष्ठित कलेज तथा शैक्षिक संस्थाहरूको सहभागिता रहेको संयोजक नविन कार्कीले जानकारी दिए । काठमाडौं, पोखरा, चितवन, हेटौँडा लगायत विभिन्न शहरका कलेज तथा शैक्षिक संस्थाहरूले स्नातक तहका विभिन्न विषय, आधुनिक कोर्स, छात्रवृत्ति योजना तथा अध्ययनका अवसरबारे जानकारी प्रदान गरेका थिए ।
संयोजक कार्कीका अनुसार नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने थुप्रै उत्कृष्ट कलेज तथा विश्वविद्यालय हुँदाहुँदै पनि पर्याप्त जानकारीको अभावमा धेरै विद्यार्थी अन्य मुलुकतर्फ आकर्षित भइरहेका छन् । यही अवस्थालाई परिवर्तन गर्दै नेपाली विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले शिक्षा मेला आयोजना गरिएको उनले बताए ।
उनका अनुसार नेपालका शैक्षिक संस्थाहरू अहिले प्रविधिमैत्री, अनुसन्धानमुखी तथा रोजगारमुखी शिक्षामा केन्द्रित हुँदै गएका छन् । नेपालमै अध्ययन गर्दा विद्यार्थीले आफ्नै परिवारको साथ, नेपाली परिवेश, तुलनात्मक रूपमा कम खर्च तथा सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने उनको भनाइ छ ।
मेलामा सहभागी विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र आर्थिक अवस्थाअनुसार उपयुक्त विषय तथा कलेज छनोट गर्न प्रत्यक्ष काउन्सिलिङको सुविधा पाएका थिए । साथै छात्रवृत्ति, करिअर गाइडेन्स तथा व्यक्तिगत परामर्श कार्यक्रमले विद्यार्थीलाई भविष्यको योजना बनाउन सहज भएको आयोजकले जनाएको छ ।






