प्रहरी कार्यालय अगाडि तेस्रोलिङ्गी समूहको प्रदर्शन, तीन जना नियन्त्रणमा

सिमराः कलैयास्थित जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने तीन जना तेस्रोलिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको दवाही गोनाही गाउँपालिका ५ की २६ वर्षीया दिव्या रानी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका ८ की २५ वर्षीया निशा भारती र ५७ वर्षीया निशा देवीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महमद सरिफ मियाँ भाँडको जाहेरीका आधारमा दर्ता भएको अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई न्यायिक हिरासतमा राखिएको थियो ।
उक्त व्यक्तिलाई रिहा गर्नुपर्ने माग गर्दै सोमबार बिहान तेस्रोलिङ्गी समूहले प्रहरी कार्यालय अगाडि सडक अवरोध गर्दै अर्धनग्न भएर प्रदर्शन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदर्शनकारीहरूले सडक अवरुद्ध पार्नुका साथै सर्वसाधारण र सवारी साधनको आवागमनमा समेत अवरोध पुर्याउँदै होहल्ला गरेका थिए ।
प्रहरी टोलीले सम्झाउने प्रयास गर्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा हातपात गर्ने प्रयास गरेको बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
शान्ति सुरक्षामा खलल पुगेपछि प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको नेतृत्पमा खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धि थप अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







