सात वर्षपछि हत्या आरोपित बाराका पञ्चदेव महरा चितवनमा पक्राउ


eShilalekh

८ जेष्ठ २०८३, शुक्रबार १६:११

सिमराः चितवन प्रहरीले हत्या आरोपमा करिब सात वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका ४ का ३० वर्षीय पुनदेव भनिने पञ्चदेव महरा रहेका छन् ।

जिल्ला बारा साविक फेटा गाविस वडा नं. ४ हाल फेटा गाउँपालिका ३ का ४६ वर्षीय सखिचन महराको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७६ साल चैत २३ गते साँझ चितवनको खैरहनी नगरपालिका वडा नं. ९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको परिसरभित्र मजदुरहरू बस्ने कच्ची घरको कोठामा सखिचनको शव फेला परेको थियो ।
 
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उनको कर्तव्य गरी हत्या भएको र सो कार्यमा पुनदेव भन्ने पञ्चदेव संलग्न रहेको खुलेको थियो ।

घटनालगत्तै फरार रहेका प्रतिवादी पञ्चदेवलाई पक्राउ गर्न चितवन जिल्ला अदालतबाट २०७६ चैत २५ गते नै अनुमति लिई प्रहरीले निरन्तर खोजतलास गरिरहेको थियो ।
 
खोजतलासका क्रममा बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोल र आसपासका गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र इलाका प्रहरी कार्यालय खैरहनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई जेठ ५ गते पक्राउ गरेको हो ।

हाल महरालाई इलाका प्रहरी कार्यालय खैरहनीको न्यायिक हिरासत कक्षमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्