बारामा क्यान्सर पीडित महिलालाई घरमै पुगेर नागरिकता प्रदान

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले क्यान्सर पीडित महिलालाई उनको घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।कलैया उपमहानगरपालिका २७ की मुरतिया देवी क्यान्सर रोगका कारण अत्यन्त सिकिस्त अवस्थामा रहेका बेला प्रशासनले यो उदाहरणीय कदम चालेको हो ।
पीडित परिवारबाट नागरिकताका लागि माग भएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र स्वयं बिरामीको घरमै पुगेर उनको अवस्था अवलोकन गर्नुका साथै सही सनाखत गराएका थिए ।
सनाखत प्रक्रिया पूरा भएलगत्तै प्रजिअ मिश्रले सोही स्थानमा मुरतिया देवीका पति संजय सहनी मलाहलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । नागरिकता वितरणका लागि प्रजिअ मिश्रको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र स्थानीय जनप्रतिनिधिहरूको टोली बिरामीको घरमै पुगेको थियो ।
उक्त विशेष अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रशासकीय अधिकृत मनिषा कर्ण, नायब सुब्बा रत्न स्याङ्गतान, कम्प्युटर अपरेटर हरिवंश चौधरी र सम्बन्धित वडाका वडा अध्यक्ष अशोक तिवारी लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले क्यान्सर रोगसँग कठोर संघर्ष गरिरहनुभएकी मुरतिया देवीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।






