दुर्गा प्रसाईंलाई साधारण तारेखमा हिरासतमुक्त गर्न पर्सा जिल्ला अदालतको आदेश


eShilalekh

१२ जेष्ठ २०८३, मंगलवार १५:०१

वीरगन्जः पर्सा जिल्ला अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई हिरासतमुक्त गर्न आदेश दिएको छ ।

प्रसाईंविरुद्ध दायर मुद्दामाथि मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो ।

इजलासले दुवै पक्षको बहस सुनेपछि प्रसाईंलाई न्यायिक हिरासतमा राखिरहनु नपर्ने ठहर गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म तारेखमा राखेरै कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ । अदालतको यो आदेशसँगै प्रसाईंले अब थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

यसअघि वीरगन्जमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आएका बेला प्रसाईंलाई गत सोमबार बेलुकी वीरगन्जकै सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध गत मंगलबार विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा मुद्दा चलाएर प्रहरी हिरासतमा राखिएको थियो ।

प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरूले वीरगन्जमा पटक–पटक विरोध प्रदर्शन समेत गरेका थिए । अदालतको निर्णयपछि प्रसाईं समर्थकहरूले राहत महसुस गरेका छन् भने अनुसन्धानमा संलग्न निकायहरूले बाँकी कानुनी तथा प्राविधिक अनुसन्धान प्रसाईंलाई तारेखमै राखेर अघि बढाइने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्