वन अतिक्रमण विवादपछि अवरुद्ध विपि राजमार्ग १० घण्टापछि सञ्चालनमा

महोत्तरी: वन अतिक्रमणको विषयलाई लिएर स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको विपि राजमार्ग अन्तर्गत बर्दिबास–सिन्धुली सडक खण्ड करिब १० घण्टापछि सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र डिभिजन वन कार्यालय प्रमुख अजयकुमार मिश्रले हाललाई वन अतिक्रमण गरेर बनाइएको बस्ती हटाउने कुनै योजना नरहेको लिखित प्रतिबद्धता जनाएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् । प्रतिबद्धतापछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
बर्दिबास नगरपालिका ३ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सोमबार साँझ सूचना जारी गर्न पुगेका वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएपछि स्थिति तनावग्रस्त बनेको थियो। कर्मचारीको उद्धारका लागि राति प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित भिडले वन कार्यालयको एउटा गाडीमा आगजनी समेत गरेका थिए ।






