रोहित र किरणले बारालाई दिलाए स्वर्ण, राष्ट्रपति रनिङ शिल्डमा दमदार सुरुआत

सिमराः बाराको सिमरा रंगशालामा मंगलबारदेखि सुरु भएको मधेस प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको पहिलो दिन घरेलु टोली बाराले एक सय मिटर दौडमा दुई स्वर्ण जित्दै शानदार सुरुआत गरेको छ ।
छात्रतर्फ रोहित चौधरी र छात्रातर्फ किरण सर्राफले स्वर्ण जित्दै बारालाई पहिलो शानदार सुरुवा दिलाएका हुन् । छात्रातर्फ बाराकी अनु माझीले रजत पदक थप्दै घरेलु टोलीको प्रदर्शनलाई थप मजबुत बनाइन् ।
एथलेटिक्सतर्फ समग्रमा भने सर्लाहीले दबदबा कायम गरेको छ । सर्लाहीले तीन स्वर्ण, पाँच रजत र तीन कास्य पदक जित्दै पदक तालिकामा अग्रता बनाएको हो । एक हजार पाँच सय मिटर छात्रतर्फ रचित बैडा, चार सय मिटर छात्रतर्फ गोविन महतो तथा छात्रा चार सय मिटरमा शिवानी महतोले सर्लाहीलाई स्वर्ण दिलाए ।
एक हजार पाँच सय मिटर छात्रातर्फ महोत्तरीकी चन्द्रकला मण्डल स्वर्ण विजेता बनिन् । पर्साले दुई कास्य पदक जित्दा सिरहा र सप्तरीले समान एक÷एक कास्य पदक हात पारे ।
भलिबलतर्फ पनि प्रतिस्पर्धा रोमाञ्चक बन्यो । बाराले सर्लाहीलाई २५–२१ र २७–२५ को सोझो सेटमा हराउँदै विजयी सुरुआत गर्यो । यसैगरी महोत्तरीले सिरहालाई २५–१७ र २५–११ को सोझो सेटमा हरायो । धनुषाले सप्तरीलाई २५–२३ र २५–२० ले पराजित गर्दा रौतहटले पर्सालाई २५–१७ र २७–२५ को सेटमा पराजित गरेको रेफ्री संयोजक रायबहादुर भेटवालले जानकारी दिए ।
मधेस प्रदेश खेलकुद परिषद्द्धारा आयोजित प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाबाट ७५२ खेलाडी सहभागी छन् । जेठ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबाट एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसुतर्फ १२४ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनेछन् ।
यसअघि पूर्व खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नेपाली सेनाका महासेनानी रञ्जन कार्की, इलाका प्रशासन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद कंडेल, प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख जियाउल अंसारी, प्रदेश खेलकुद परिषद सदस्य लब अधिकारी, सुनिल यादव, दीपेन्द्र गोइत, बारा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख हेमलाल श्रेष्ठ, नाजिर हुसेन, मानबहादुर लामा, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामालगायतको उपस्थिती रहेको थियो ।
मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको संचालन प्रभु शिवाकोटीले गरेका थिए ।






