पक्राउ पुर्जी जारीपछि अदालतमा उपस्थित भए वीरगन्जका मेयर


eShilalekh

१३ जेष्ठ २०८३, बुधबार १२:०१

वीरगन्ज: नागरिकता लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह बुधबार पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् ।

पर्सा जिल्ला अदालतले मंगलबार मेयर सिंह, उनकी कान्छी श्रीमती रिता भट्टराई तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि मेयर सिंह बुधबार कार्यालय समयमा अदालत पुगेका हुन् ।

अदालत पुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मेयर सिंहले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएको र न्यायिक प्रक्रियामा सहयोग गर्न स्वेच्छाले अदालतमा उपस्थित भएको बताएका छन् ।

तर पर्सा जिल्ला अदालतमा मुद्दाको चाप अत्यधिक रहेका कारण बुधबार सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत प्रशासनले जनाएको छ। अदालत प्रशासनसँग समन्वय गरेर मेयर सिंह फर्किएका छन् । मेयर सिंहले सार्वजनिक बिदापछि पुनः अदालतमा उपस्थित हुने जानकारी अदालत प्रशासनलाई गराएका छन् ।

मेयर सिंहमाथि रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरी देखाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएको आरोप लागेको छ। सोही विषयमा लिखतसम्बन्धी कसुर मुद्दा दर्ता भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो । तर मेयर सिंहले भने रिता भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।

सरकारी वकिलको कार्यालयका अनुसार वीरगन्ज ३ निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते तथा नागरिकता किर्तेसम्बन्धी उजुरी दिएका थिए ।

उक्त उजुरीका आधारमा मेयर सिंहविरुद्ध चारवटा मुद्दा दर्ता भएको र तीमध्ये लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरिएको पर्सा जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्