सर्लाहीको दशगजा क्षेत्रमा एक पुरुष मृत फेला, अनुसन्धान जारी


eShilalekh

१३ जेष्ठ २०८३, बुधबार १२:३०

सर्लाहीः सर्लाहीको पर्सा गाउँपालिका १ सितलपुर टोल नजिकै नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा मंगलबार दिउँसो बाटोको छेउमा अन्दाजी ४५ देखि ५० वर्षका पुरुषको शव फेला पारेको हो । मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थललाई सुरक्षित राख्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राईको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार साँझ शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

मृतकको पहिचान खुल्ने स्पष्ट प्रमाण नभेटिए तापनि उनको हातमा लगाएको बालामा ‘जगन राउत’ लेखिएको छ भने खल्तीबाट भारतीय १० रुपैयाँको नोट र दुई रुपैयाँको सिक्का बरामद भएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्