रौतहटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक नियन्त्रणमा

रौतहटः रौतहटको चन्द्रपुर नगरपालिका जुडिबेलास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको पूर्वी लच्का नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालक अन्दाजी २२–२३ वर्षका युवक रहेका छन् । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरबाट सहायक प्रहरी नायव निरीक्षक रामकुमार अधिकारीको कमाण्डमा ९ जना र जिल्ला ट्राफिक कार्यालयबाट ट्राफिक प्रमुख राजेन्द्र थापामगरको कमाण्डमा १० जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख थापामगरका अनुसार दुर्घटनामा संलग्न दुबै सवारी साधन र बस चालक मकवानपुर गढी गाउँपालिका ३ का ५९ वर्षीय लक्ष्मीभक्त ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाल चालक र सवारी साधनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ भने मृतकको शव परीक्षणका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुरमा पठाइएको प्रहरीले जनाएको छ ।






