राष्ट्रपति रनिङ शिल्ड छनौटः एथलेटिक्समा सर्लाहीको अग्रता कायम, बारा पछ्याउँदै


eShilalekh

१३ जेष्ठ २०८३, बुधबार २१:४४

सिमराः सिमरामा जारी मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता अन्तर्गत एथलेटिक्सतर्फ सर्लाहीले आफ्नो बलियो प्रदर्शन कायम राखेको छ । सिमरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन थप चार स्वर्ण बटुल्दै सर्लाहीले आफ्नो दबदबा कायम राखेको हो ।

पहिलो दिन तीन स्वर्ण जित्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको सर्लाहीले बुधबार दोस्रो दिन थप चार स्वर्ण, तीन रजत र एक कास्य हात पारेको छ । यो सँगै सर्लाहीले जारी प्रतियोगितामा एथलेटिक्सतर्फ १९ पदक जितेको छ । जसमा सात स्वर्ण, आठ रजत र चार कास्य रहेका छन् ।

सर्लाहीले दोस्रो दिन चार सय मिटर रिले दौडमा छात्र र छात्रा दुवैतर्फ स्वर्ण जितेको छ भने आठ सय मिटर दौडमा पनि स्वर्ण हात पारेको छ । यसैगरी ज्याभलिन थ्रो महिलातर्फको स्वर्ण पनि सर्लाहीकै नाममा गएको छ ।

ज्याभलिन थ्रोमा सर्लाहीकी नाबिया महतो प्रथम भईन् । उक्त स्पर्धामा सप्तरीकी मनिषाकुमारी दोस्रो हुँदा रौतहटकी सीमा कुमारी पण्डितले तेस्रो हुँदै कास्य जितिन् । आठ सय मिटर पुरुषतर्फ सर्लाहीका बिकी यादवले स्वर्ण जिते । उक्त दौडमा सर्लाहीकै रचित बैठा दोस्रो र सिरहाका निरज यादव तेस्रो भए ।

यता पहिलो दिन एक सय मिटर दौडमा दुई स्वर्ण हात पारेको बाराले दोस्रो दिन सटपुटमा थप दुई स्वर्ण जितेको छ । सटपुटको छात्र र छात्रा दुवैतर्फ बाराले स्वर्ण हात पारेको हो ।

छात्रतर्फ बारा जीतपुरसिमराका निशान परियाले स्वर्ण जिते । उनी प्रथम हुँदा धनुषाका आकाश पासवान दोस्रो र सर्लाहीका आदित्य चौधरी तेस्रो भए । छात्रातर्फ निजगढकी अरुनिमा घिमिरेले बारालाई स्वर्ण दिलाईन् । उक्त स्पर्धामा सर्लाहीकी ग्याल्मामाया थोकर दोस्रो र महोत्तरीकी माया आले तेस्रो भईन् । जारी प्रतियोगितामा बाराले एथलेटिक्सतर्फ चार स्वर्ण, दुई रजत र दुई कास्य जितेको छ ।

यता महोत्तरीका प्रियांशु शर्माले जिल्लालाई थप एक स्वर्ण दिलाए । उनले ज्याभलिन थ्रोमा अन्य जिल्लाका खेलाडीलाई पछि पार्दै महोत्तरीलाई स्वर्ण दिलाएका हुन् । उक्त स्पर्धामा सप्तरीका अमनकुमार पण्डितले रजत र अमित मण्डलले कास्य जिते । महोत्तरीले मंगलबार एक हजार पाँच सय मिटर छात्रातर्फको दौडमा स्वर्ण जितेको थियो । चन्द्रकला मण्डलले महोत्तरीलाई पहिलो स्वर्ण दिलाएकी थिईन् ।

यता सप्तरीले हाइजम्पमा महिलातर्फ स्वर्ण हात पारेको छ । निरन्जना चौधरीले सप्तरीलाई स्वर्ण दिलाएकी छिन् । उनी प्रथम हुँदा सर्लाहीकी स्मृती चौधरी दोस्रो र सप्तरीकै लक्ष्मीकुमारी चौधरी तेस्रो भईन् । सप्तरीले प्रतियोगिताको दोस्रो दिन एक स्वर्ण, तीन रजत र एक कास्य जितेको छ । यसअघि सप्तरीले पहिलो दिन एक कास्यमा चित्त बुझाएको थियो ।

पहिलो दिन पदकबिहीन बनेको रौतहटले दोस्रो दिन एक स्वर्ण र एक कास्य हात पारेको छ । हाइजम्प पुरुषतर्फ आदित्य चौधरीले रौतहटलाई स्वर्ण दिलाएका छन् । उक्त स्पर्धामा धनुषाका कुनाल शर्मा दोस्रो र प्रवण चौधरी तेस्रो भएका छन् ।

यसैगरी धनुषाले दुई रजत र एक कास्य जितेको छ भने सिरहाले दुई कास्य हात पारेको छ । सिरहाले पहिलो दिन एक कास्य जितेको थियो । एथलेटिक्सका बाँकी खेलहरु बिहीबार हुनेछ ।

तेक्वान्दोतर्फ पुम्सेमा बारालाई दुई स्वर्ण

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता अन्तर्गत तेक्वान्दोतर्फ पुम्सेमा बाराले दुई स्वर्ण जितेको छ । सिमरामा बुधबार भएको खेलमा पुम्से छात्रातर्फ जीतपुरसिमरा १ पथलैयाकी छुछेन्द्रु डिमडुङले स्वर्ण जितिन् । यसैगरी निजगढका अस्मिन लामाले छात्रतर्फ स्वर्ण दिलाए ।

तेक्वान्दोको क्योरुगीतर्फको अन्तिम चरणका स्पर्धाहरु बाँकी रहेको मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले जानकारी दिए ।

कराँतेमा सिरहालाई पाँच स्वर्ण

प्रतियोगिता अन्तर्गत कराँतेमा सिरहाले पाँच स्वर्ण जितेको छ भने सप्तरीले एक स्वर्ण पाएको छ । कराँतेको ४० केजी महिलातर्फको फाइटमा सिरहाकी रिद्धीराई चौधरीले स्वर्ण जितिन् भने महोत्तरीकी क्यारिना पोखरेलले रजत हात पारिन् । यसैगरी रौतहटकी बिनिता गुरुङ र पर्साकी दिपीका गिरीले कास्य पदक प्राप्त गरेका छन् ।

४२ केजी पुरुषतर्फ पनि सिरहाका अनुप ठाकुरले स्वर्ण जिते । उक्त स्पर्धामा सप्तरीका पार्थ साहले रजत जिते भने सर्लाहीका सुदिप दोङ र रौतहटका छत्रबहादुर श्रेष्ठले कास्य पदक जितेका छन् । ६२ केजी पुरुषतर्फ सिरहाका बिशालकुमार सिंहले स्वर्ण, महोत्तरीका आदित्य कालिकोटले रजत, सप्तरीका अर्जुनकुमार यादव र रौतहटका अनिल आलेमगरले कास्य जिते ।

४७ केजीमा पुरुषतर्फ सप्तरीका रोशन ठाकुरले स्वर्ण जित्दा सिरहाका समीर श्रेष्ठले रजत जिते । यस स्पर्धामा धनुषाका रमण मिश्र र सर्लाहीका राघव मगरले कास्य जिते । महिला काँतातर्फ सिरहाकी रितु अधिकारीले स्वर्ण, धनुषाकी आँचल यादवले रजत, महोत्तरीकी मनिता मोक्तान र सर्लाहीकी मनिषा गौतमले कास्य जिते ।

पुरुष काँतातर्फ सिरहाका रोयल थिङले स्वर्ण जित्दा रौतहटका अनिश मगरले रजत र सप्तरीका प्रिभिक विकले कास्य जितेको कराँते प्रशिक्षक सानु पटेलले जानकारी दिए ।

कबड्डी उपाधी भिडन्त बाँकी
प्रतियोगिता अन्तर्गत कबड्डीको महिलातर्फ सर्लाही र पर्सा फाइनलमा प्रवेश गरेका छन् । सिमरामा बुधबार भएको सेमिफाइनल खेलमा सर्लाहीले बारालाई र पर्साले धनुषालाई पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् । सर्लाहीले बारालाई ४४–३७ र पर्साले धनुषालाई ५१–४८ ले पाखा लगाएको हो ।

पुरुषतर्फ धनुषा र पर्साले उपाधीका लागि बिहीबार खेल्नेछन् । धनुषाले सर्लाहीलाई ३४–२७ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
यसैगरी प्रतिस्पर्धात्मक सेमिफाइनलमा बारालाई ४४–४१ ले पराजित गर्दै पर्सा फाइनलमा प्रवेश गरेको हो ।

बारा र धनुषा भलिबलको फाइनलमा
प्रतियोगिता अन्तर्गत छात्रतर्फको भलिबलको उपाधीका लागि बारा धनुषा भिड्ने भएका छन् । सिमरा रंगशालामा भएको सेमिफाइनल खेलमा बाराले रौतहटलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

बाराले रौतहटलाई २५–११ र २५–२० को सोझो सेटले पराजित गरेको हो । यसैगरी महोत्तरीलाई २५–२३, १८–२५ र २५–२१ को सेटमा पराजित गर्दै धनुषा फाइनलमा प्रवेश गरेको हो ।

छात्रातर्फ भने सर्लाही फाइनलमा प्रवेश गरेको छ । सर्लाहीले बारालाई २५–२०, २०–२५ र २५–१८ को सेटमा हराएको हो । सर्लाहीले उपाधीका लागि सप्तरी र महोत्तरीबीचको बिजेतासँग खेल्नेछ ।

बिहीबार साँझ समापन
आयोजक मधेस खेलकुद विकास परिषद्ले बिहीबार साँझ प्रतियोगिताको समापन कार्यक्रम गर्ने तयारी गरेको छ । प्रतियोगिता अन्तर्गतका सम्पूर्ण खेलहरु अन्तिम चरणमा रहेकाले तेस्रो दिन साँझ समापन गरिने खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजी गुप्ताले जानकारी दिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, उसु खेलमा प्रदेशभरीबाट सात सय ५२ खेलाडी सहभागी भएका छन् । सहभागीमध्ये एक सय २४ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्