सर्लाहीमा सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु


eShilalekh

१४ जेष्ठ २०८३, बिहीबार १२:३९

सर्लाहीः सर्लाहीको कौडेना गाउँपालिका १ लक्ष्मीपुरमा बुधबार साँझ सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय रविन्द्र गिरीका ३ वर्षीय छोरा आदित्य गिरी रहेका छन् । घरको कौसीमा खेलिरहेका बेला बालकलाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्पले टोकेलगत्तै परिवारले उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए । तर उपचारकै क्रममा राति करिब ८ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

बालकको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण बालकको ज्यान गएको आरोप लगाउँदै अस्पताल परिसरमा ढुङ्गामुढा र होहल्ला गरेका थिए ।

तनावग्रस्त बनेको अस्पतालको अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २५ जनाको विशेष प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले आक्रोशित पक्षलाई सम्झाइबुझाइ गरेपछि स्थिति सामान्य बनेको थियो ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी राति नै बालकको शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्