वीरगन्जमा अवैध देहव्यापार सञ्चालन गरेको आरोपमा सात जना पक्राउ

वीरगन्जः वीरगन्ज महानगरपालिका ११ श्रीपुरस्थित झाझी टोलमा अवैध देहव्यापार सञ्चालन भइरहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राति स्थानीय वकिल मियाँको घरबाट दुई पुरुष र पाँच महिलालाई नियन्त्रणमा लिएको हो ।
उक्त स्थानमा लामो समयदेखि शंकास्पद गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा अवैध देहव्यापार सञ्चालन भइरहेको आशंका पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसपी हरीबहादुर बस्नेतले जनाएका छन् ।
पक्राउ परेका व्यक्तिहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक सोधपुछ तथा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य कुनै व्यक्ति वा संगठित समूहको संलग्नता भए–नभएको विषयमा समेत प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ ।






