वीरगन्जमा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक महिला मजदुरको मृत्यु

वीरगन्जः वीरगन्ज महानगरपालिका ६ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक महिला मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका ४ की ३२ वर्षीया सीतादेवी मुसहर रहेकी छन् ।
वीरगन्ज महानगरपालिका ६ मा ओम अग्रवालको नयाँ घर निर्माण भइरहेको स्थानमा बिहीबार दिउँसो अचानक इट्टाको पर्खाल र टप भत्किएर खसेको थियो ।

सोही क्रममा त्यहाँ कार्यरत मजदुर सीता पर्खालको भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् । घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि तत्काल नारायणी अस्पताल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरीले घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएको छ र उनीसँग आवश्यक सोधपुछ गरिरहेको छ ।






