विद्यालयमा विश्वकपको माहोल, एकता स्कुलमा विश्वकप विशेष कार्यक्रम


eShilalekh

२९ जेष्ठ २०८३, शुक्रबार १६:००

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित एकता स्कुलले विश्वकप फुटबलको माहोललाई कक्षाकोठासम्म जोड्दै शुक्रबार विशेष कार्यक्रम आयोजना गरेको छ । विश्वकप फुटबलबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थी विभिन्न देशका जर्सी र झण्डासहित सहभागी भएका थिए ।

कार्यक्रममा ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, फ्रान्सलगायत विभिन्न देशका जर्सी लगाएका विद्यार्थीहरूको उपस्थितिले विद्यालय परिसर विश्वकपमय बनेको थियो । दैनिक विद्यालय पोशाकमा देखिने विद्यार्थीहरू मनपर्ने टोलीको जर्सीमा सजिएर सहभागी हुँदा विद्यालयमा उत्साहपूर्ण वातावरण सिर्जना भएको थियो ।

विद्यालय परिसरलाई विश्व फुटबलका महान् खेलाडी पेले, म्याराडोना, रोनाल्डो, मेस्सी, नेइमार र एम्बाप्पेका तस्वीर तथा विभिन्न राष्ट्रका झण्डाले सजाइएको थियो । रंगशालाको झल्को दिने गरी सजाइएको परिसरमा विद्यार्थीहरूको उत्साह र सहभागिताले कार्यक्रम थप आकर्षक बनेको थियो ।

मनोरञ्जनसँगै कार्यक्रमले विद्यार्थीलाई विश्व फुटबलको इतिहास, विकासक्रम, नियम तथा महत्वबारे जानकारी प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरूले विश्वकप फुटबलसम्बन्धी ज्ञान आदानप्रदान गर्न तथा नयाँ विषय सिक्ने अवसर प्राप्त भएको बताएका छन् ।

विद्यालयका शिक्षक सुशान्त चौधरीले विद्यार्थीलाई विश्वकप फुटबलबारे थप जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । विश्वकप फुटबल केवल खेल प्रतियोगिता मात्र नभई विश्वका विभिन्न देश, संस्कृति र खेलभावनालाई जोड्ने महत्वपूर्ण माध्यम भएकाले यसको विषयमा हरेक विद्यार्थीले बुझ्न आवश्यक रहेको चौधरीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्