घिसिङ एशियाली तेक्वान्दो युनियनको प्रशिक्षक समिति सदस्यमा नियुक्त


eShilalekh

१ असार २०८३, सोमबार १०:०७

सिमरा: राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य तथा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक कुमार लामा घिसिङ एशियाली तेक्वान्दो युनियनको प्रशिक्षक समिति सदस्यमा नियुक्त भएका छन् ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका घिसिङलाई एशियाली तेक्वान्दो युनियनले सन् २०२६ का लागि प्रशिक्षक समिति सदस्यको जिम्मेवारी प्रदान गरेको हो ।

युनियनले १ जनवरी २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म लागू हुने गरी उनको नियुक्ति गरेको हो ।
घिसिङलाई प्रदान गरिएको नियुक्तिपत्र काठमाडौंमा आयोजित रेफ्री पुनर्ताजगी तथा सेमिनार कार्यक्रमको समापन समारोहमा हस्तान्तरण गरिएको थियो ।

खेलकुद मन्त्रालयका मुख्य सल्लाहकार सिद्धी  व्यञ्जनकारले उनलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष दीपराज गुरुङ लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
विक्रम संवत् २०५० सालदेखि तेक्वान्दो क्षेत्रमा सक्रिय घिसिङ खेलाडीबाट प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायकको भूमिकासम्म पुग्न सफल भएका व्यक्तित्व हुन् । उनी दुई कार्यकालदेखि नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यसमितिमा छन् ।

घिसिङ सन् २०२३ मा चीनको हाङ्चाओमा सम्पन्न १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपाली तेक्वान्दो टोलीका प्रशिक्षक थिए । यसअघि सन् २०१८ मा क्यानडामा सम्पन्न जुनियर वर्ल्ड च्याम्पियनसिपमा पनि उनले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

प्रशिक्षक र निर्णायकका रूपमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । फागुनमा काठमाडौंमा सम्पन्न चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत उनी निर्णायक टोलीमा आवद्ध थिए ।

तेक्वान्दोको छैटौं डान प्राप्त घिसिङलाई कुशल प्रशिक्षक तथा अनुभवी निर्णायकका रूपमा चिनिन्छन् । हाल उनको नेतृत्वमा करिब चार सय खेलाडी प्रशिक्षणरत छन् । उनले वि.सं. २०५७ सालमा स्थापना भएको युनाइटेड तेक्वान्दो डोजाङ तथा विभिन्न विद्यालयहरूमा नियमित प्रशिक्षण गराउँदै आएका छन् ।

एशियाली तेक्वान्दो युनियनको प्रशिक्षक समिति सदस्यमा उनको नियुक्तिलाई नेपाली तेक्वान्दोका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । घिसिङले युनियनको यो नियुक्तिले थप उर्जा मिलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्